बिर्तामोड, भदौ २५ । बिर्तामोड नगरपालिकाले वडा नम्बर २ को पूर्णिमा कृषक समूहलाई बंगरका पाठा वितरण गरेको छ ।
नगरपालिकाको मेयर पकेट प्याकेज कार्यक्रमअन्तर्गत उक्त समूहलाई ३० वटा बंगुरका पाठा वितरण गरिएको हो । कार्यक्रमको नियमानुसार वडा नम्बर ९ को नमुना बंगुरपालन कृषक समूहले फिर्ता गरेको पाठा पूर्णिमा समूहलाई वितरण गरिएको हो ।कार्यक्रममा बोल्दै नगर उप–प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले नगरलाई माछामासुमा आत्मनिर्भर बनाउने योजनाअनुसार मेयर पकेट प्याकेज कार्यक्रमलाई निरन्तरता दिएको बताए । मेहेनत गर्दा वंगुरबाट मनग्य आम्दानी लिन सकिने भएकोले व्यवसायिक बन्न उनले आग्रह गरे ।
यसैबीच वडा नम्बर २ का वडाध्यक्ष किशोर पौडेलले बंगुरका पाठाबाट मनग्य आम्दानी लिन सकिनेमा आफू विश्वस्त रहेको बताए । उनले आगामी दिनमा कृषक महिलाहरुको क्षमता विकासका लागि अन्य कार्यक्रमहरुको आयोजना गर्ने जानकारी दिए ।
नगरपालिकाले गएको आर्थिक वर्ष २०८०÷८१ को कार्यक्रम अनुसार पाठा वितरण गरेको हो । कार्यक्रममा बोल्दै पशुपंछी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले आर्थिक वर्ष २०७४÷७५ यता नगरपालिकाले १ करोड ४४ लाख रुपैयाँ बराबरको बंगुर र बाख्राका खोर निर्माणमा खर्च गरिसकेको जानकारी दिइन् । उनले बंगुरपालनबाट कृषकले मासिक ६० हजारदेखि ३ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको बताइन् ।
कार्यपालिका सदस्य तथा आर्थिक विकास समिति संयोजक संगीता सिवाको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यपालिका सदस्य तिला गौतम, वडा नम्बर २ का वडासदस्य ओमनाथ गौतम , चेतन बिमलीलगायतको उपस्थिति रहेको थियो ।