झापा, भदौ २६ । २०८४ को निर्वाचन आउन अझै तीन वर्ष बाँकी छ । तर, राजनीतिक दलहरुले यतिबेलैदेखि कार्यकर्ता तानातान गर्न थालिसकेका छन् ।

झापामा केही दिनदेखि कार्यकर्ता तानातान गर्ने होडवाजी नै चलेको छ । घरघरमा पसेर अरु पार्टीका कार्यकर्तालाई फकाउन लागिपरेका छन् । जेजति फकिएपनि आफ्नो पार्टीमा ल्याउन दलहरुले एकपछि अर्को गर्दै धमाधम पार्टी प्रवेश कार्यक्रम आयोजना गर्दैछन् ।

भदौ २२ गते दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले बिर्तामोडमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मोरङमा उम्मेदवार बनेका विकास उप्रेतीलगायत ४४ जनालाई प्रवेश गरायो ।

त्यसको दुई दिनपछि भदौ २४ गते नेकपा एमाले झापाले जिल्ला पार्टी कार्यालयको सभाहलमा कार्यक्रम गरी नेकपा एकीकृत समाजवादीनिकट युवा संघ नेपालका जिल्ला इन्चार्ज खगेन्द्र बाह्रकोटी,जिल्ला अध्यक्ष सुनिल थापा, समाजवादीका जिल्ला सचिवालय सदस्य राजन थापालगायत ३६ जनालाई पार्टी प्रवेश गरायो ।

त्यसको भोलिपल्ट हिजो राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न पार्टी परित्याग गरी पाँच सयभन्दा बढी दलका नेता तथा कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गराएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी र जनता समाजवादी पार्टी परित्याग गरेर पाँच सयबढी नेता कार्यकर्ता राप्रपामा प्रवेश गरेको जिल्ला अध्यक्ष केशव ओझाले बताए ।उनका अनुसार सबैभन्दा धेरै अर्जुनधाराबाट एक सय ५७ जना राप्रपामा प्रवेश गरेका छन् ।त्यस्तै बिर्तामोडबाट एक सय बढी, कनकाई ८–बाट ४०, मेचीनगरबाट ३०, बुद्धशान्तिबाट ४०, कचनकवलबाट ५०, भद्रपुरबाट ४०, हल्दिवारीबाट ५६, बाह्रदशीबाट ३०, झापाबाट १०, दमकबाट १० जना राप्रपामा प्रवेश गरेको बताइएको छ । कार्यक्रममा अर्जुनधारा नगरपालिकाको एउटै वडाबाट एक सय २० जनाभन्दा वढी राप्रपामा प्रवेश गरेका छन् । तरुण दल अर्जुनधारा ५ का अध्यक्ष टंक दाहालको नेतृत्वमा उनीहरु राप्रपामा प्रवेश गरेका हुन् ।

जसपा झापा जिल्ला उपाध्यक्ष संगिता रौनियार, जसपाकै नेता सुरेश राय यादव, विश्व हिन्दु महासंघका केन्द्रीय उपाध्यक्ष ध्रुव शिवाकाटीलगायत नेता कार्यकर्तालाई राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरेका थिए ।

अब पार्टी प्रवेश गराउने पालो नेकपा माओवादी केन्द्रको रहेको छ । अध्यक्ष पुष्पकमल दाहाललाई बोलाएर भदौ ३० गते माओवादीले पार्टी प्रवेश कार्यक्रम आयोजना गर्दैछ । कार्यकर्ता प्रशिक्षण भनिएपनि अन्य पार्टी परित्याग गरि राजनीतिमा चिनिएका व्यक्तिहरुलाई पार्टी प्रवेश कार्यक्रम रहेको झापा जिल्ला संयोजक राजु आचार्यले जानकारी दिए ।

विभिन्न पार्टी छोडेर अहिले स्वतन्त्र रहेका लोकबन्धु कन्दङ्वालगायत माओवादीमा प्रवेश गर्न लागेको सुनिएको छ । उनी साविक अनारमनी नगरोन्मूख गाउँ विकास समितिका उपाध्यक्ष हुन् । नेकपा एमालेका प्रदेश कमिटी सदस्य रहेका कन्दङ्वा त्यसपछि नेकपा समाजवादीको केन्द्रीय सदस्य भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्