लक्ष्मी उप्रेती,
मेचीनगर । पूर्वी पहाडी जिल्लामा मुख्य नगदेवाली रहेको अम्लिसोको पूर्वीनाकाबाट हुने निर्यात वर्षेनि बढ्दो छ । पूर्वीनाका काँकरभिट्टाबाट हुने अम्लिसोको निर्यात आर्थिक वर्ष २०७८÷२०७९ मा अघिल्लो चार आर्थिक वर्षयताकै उच्च थियो ।

क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका अनुसार आर्थिक वर्ष २०७८÷२०७९ मा पूर्वीनाका भएर ५४ करोड ७९ लाख ७५ हजार रुपैयाँ मूल्य बराबरको १० हजार ९ सय ५९ मेट्रिक टन अम्लिसो निर्यात भएको थियो । यो वर्षको तुलनामा आर्थिक वर्ष २०७९÷०८० मा काँकरभिट्टा नाका भएर अम्लिसोको निर्यात निकै बढेको छ । मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी एवम् भन्सार अधिकृत गणपति कँडेलका अनुसार आर्थिक वर्ष २०७९÷०८० मा ८६ करोड ४३ लाख रुपैयाँ मूल्य बराबरको एक करोड १९ लाख ७३ हजार नौसय ८० मेट्रिक टन अम्लिसो निर्यात भएको छ ।
गत आर्थिक वर्ष २०८०÷०८१ को एकवर्षे अवधिमा एक अर्ब १२ करोड ४६ लाख १४ हजार रुपैयाँ मूल्य बराबरको एक करोड १४ लाख एकसय अम्लिसोको निर्यात भएको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७९÷०८० को तुलनामा गत आथिक वर्ष २०८०÷०८१ मा काँकरभिट्टा नाका भएर हुने अम्लिसो निर्यात ३० दशमलव १२ प्रतिशतले बृद्धि भएको छ । २६ करोड ३१ लाख चार हजार रुपैयाँले निर्यात बढेको बताइएको छ । यो अहिलेसम्मकै उच्च हो ।
पछिल्लो समय भारत र बंगलादेशमा अम्लिसोको माग बढ्नु तथा नाका सहज हुनुले पनि निर्यात उच्च भएको यसका विज्ञहरुको भनाई छ । भारतसहित बंगलादेशमा नेपालमा उत्पादित अम्लिसोको माग बढेपनि विगत चारवर्षदेखि पूर्वी काँकरभिट्टा नाका हुदँैं भारततर्फ जाने अम्लिसोको निर्यात बर्षेनि घट्दो क्रममा रहेको थियो । पछिल्लो समय माग बढे पनि निर्यात कम थियो । विगत केहि वर्षदेखि निर्यात निकै उच्च रहेको सरकारी अधिकारीहरुको भनाई छ ।
नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर, ईलाम र झापाका केहि तथा संखुवासभा, सिन्धुली, बनेपा, हेटौडा लम्जुङमा उत्पादित अम्लिसो वार्षिक रुपमा अढाईदेखि तीनलाख वण्डल भारततर्फ निर्यात हुने गरेको व्यवसायीहरुको भनाई छ । नेपाली अम्लिसोभन्दा सिलोङमा उत्पादित अम्लिसोले भारतीय बजार बढी ओगटेको नेपाली व्यवसायी बताउँछन् ।
सिलोङबाट मात्र बर्षेनि पाँचदेखि साढे पाँच लाख वण्डल अम्लिसो भारतका विभिन्न बजारमा पुग्ने गरेको बताइएको छ । नेपालबाट निर्यात हुने अम्लिसोले भारतको दिल्ली, मुम्बई, कोलकाता, राजस्थान, हैदरावादलगायतको बजार लिनेको गरेको छ । अम्लिसोको निकासी प्रकृया कुनै झन्झटिलो नभएका कारण सहजैरुपमा निर्यात गर्ने गरेको कुचो व्यवसायीहरुको भनाई छ ।
निर्यात वापत सरकारले कृषिजन्य वस्तु भएका कारण भ्याट छुट गरेको छ । झापा जिल्लामा मात्र तीन दर्जनबढी कुचो व्यबसायी रहेका छन् । झापाली कुचो व्यवसायबाट प्रत्यक्ष अप्रत्यक्षरुपमा दुई हजार बढीले रोजगार पाएका छन् । कुचो व्यवसायीले बिभिन्न स्थानबाट काँचो अम्लिसो ल्याएर भण्डारण गर्ने, तीन चार घाम सुकाउने त्यसपछि दुई अढाई केजीको मुठ्ठा बनाई ५० केजीको बण्डल बनाएर निर्यात गर्ने गरेका छन् । यसले गर्दा धेरैलाई रोजगारको अवसर मिलेको नेपाली व्यवसायीहरुको भनाई छ ।



