झापा, भदौ २७ । झापाको अर्जुनधारामा पूजाको प्रसाद खाएर फुड पोइजन हुँदा विरामी हुनेको संख्या ८० पुगेको छ ।

पछिल्लो अपडेटअनुसार शनिश्चरे नगर अस्पतालमा ७३ , बीएण्डसी अस्पतालमा ४ र मनमोहन अस्पतालमा ३ जना विरामी उपचारका लागि भर्ना भएका छन् ।

स्वास्थ्यमा पुनः समस्या देखिएपछि डिस्चार्ज भएकाहरु फेरि अस्पताल भर्ना भएका छन् भने नयाँ बिरामीहरु पनि थपिएका छन् । शनिश्चरे अस्पतालका ७३ जना विरामीमध्ये ३९ जनालाई प्रादेशिक अस्पताल भद्रपुर रिफर गरिएको छ ।

अर्जुनधारा ९ स्थित खरबन्दीमा मंगलवार स्थानीय रिता निरौलाको घरमा पूजा लगाइएको थियो । सोही पूजामा प्रसादस्वरुप रोटी, अचार, तरकारी बाँडिएको थियो । प्रसाद खाएका अधिकांश बिरामीलाई बान्ता, पखाला र ज्वरो आउने लक्षण रहेको शनिश्चरे अस्पतालका चिकित्सकले बताएका छन् । बिरामी हुनेमा बालबालिकादेखि बृद्धबृद्धासम्म रहेका छन् ।के भएर यति धेरैजना विरामी परे भनेर अनुसन्धान गर्न पाँचजनाको रगत र दिशा परीक्षण गर्न पठाएको नगरप्रमुख बलदेवसिंह गोम्देनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्