झापा,भदौ २७ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउँदैछ । दिवसको अवसरमा शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्ति तथा संघ संस्थाहरूलाई सम्मान पनि गरिँदैछ । त्यसका लागि मन्त्रालयले आवेदन समेत माग गरेको छ । र तोकिएको मापदण्ड पुरा गरेका व्यक्ति तथा संस्थाहरूको तर्फबाट आवेदन समेत परेको छ ।
मन्त्रालयले प्रदान गर्ने विभिन्न पदक यो पटक पनि घोषणामै सिमित हुने देखिएको छ । अर्थ मन्त्रालयले पदकका लागि आवश्यक बजेट नदिँदा घोषणामै सिमित हुने देखिएको हो । मन्त्रालयले नेपाल विद्याभूषण ‘क’, ‘ख’ र ‘ग’, नेपाल छात्रा विद्यापदक क र ख तथा नेपाल प्रविधि विद्याभूषणका लागि आवेदन माग गरेको थियो ।
तोकिएको विभिन्न सर्तहरू पुरा गरेको व्यक्तिलाई भदौ १६ गते भित्र आवेदन दिन भनेको थियो । सोही आधारमा आवेदन परेका थिए । तर, बजेटको अभावमा ति पदकहरू दिन नसकिने मन्त्रालयले जनाएको छ । मन्त्रालयको उच्च शिक्षा शाखाका शाखा अधिकृत नगेन्द्रप्रसाद दहालले बजेटको अभावमा यो वर्ष पनि पदकहरू प्रदान नगरिने बताए ।
२०८० सालको शिक्षा दिवसमा समेत पदक मात्रै घोषणा गरेर वेबसाइटमा पदक विजेताहरूको नाम राखिएको थियो । यो वर्ष समेत त्यसैगरी पदक पाउने व्यक्ति तथा संस्थाहरूको नाम घोषणा गरेर वेबसाइटमा राखिनेछ । मन्त्रालयले ‘नेपाल विद्याभूषण’ ‘क’, ‘ख’ र ‘ग’ प्राप्त गर्नका लागि नेपाल भित्रका कुनै विश्वविद्यालय वा अध्ययन प्रतिष्ठान तथा विदेशी विश्वविद्यालयबाट योग्यता हासिल गरेका नेपाली नागरिकहरू र नेपाल भित्रको मान्यता प्राप्त शिक्षण संस्थामा अध्ययन पूरा गरी तोकिए अनुसारको योग्यता हासिल गरेका विदेशी नागरिकहरूलाई पदक प्रदान गर्दै आएको छ ।

त्यस्तै नेपाल छात्रा विद्यापदक ‘क’ र ‘ख’ का लागि नेपाल भित्रका विश्वविद्यालयको स्नातक तहमा नियमित विद्यार्थीको रूपमा अध्ययन गरी उक्त संकाय वा अध्ययन संस्थान वा स्कुलमा अन्तिम परीक्षामा सबैभन्दा बढी अंक वा ग्रेड प्राप्त गर्ने छात्रालाई उक्त पदक प्रदान गरिन्छ ।

शिक्षा मन्त्रालयले गत २०८० भदौ ३१ गते ९६२ जनालाई नेपाल विद्याभूषण, नेपाल छात्रा विद्यापदक र नेपाल प्रविधि विद्याभूषण प्रदान गरेको थियो । तर, उनीहरूले हालसम्म पनि ती सर्वोत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको छैन । मन्त्रालयले स्नातक तहका सर्वोत्कृष्टलाई नेपाल विद्याभूषण ग, स्नातकोत्तरका सर्वोत्कृष्टलाई नेपाल विद्याभूषण ‘ख’ र विद्यावारिधि उपाधि हासिल गरेकालाई नेपाल विद्याभूषण ‘क’ बाट विभूषित गर्दै आएको छ ।

मन्त्रालयले शिक्षा दिवस मनाउन ६० लाख रूपैयाँ बजेटको व्यवस्था गरेको छ । तर, ति पदकहरूका लागि छुट्टै बजेटको व्यवस्था गर्नुपर्ने हुन्छ । त्यसका लागि अर्थ मन्त्रालयसँग बजेट माग भएको थियो । अर्थ मन्त्रालयले बजेट उपलब्ध नगराउँदा पदक नदिने शाखा अधिकृत दाहालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्