
झापा,भदौ २७ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले ग्रामीण कृषकमाझ रहेको गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको आयोजनामा बिहीबार विराटनगरमा कृषि एक्स्पो २०८१ उद्घाटन कार्यक्रममा कृषि मन्त्री अधिकारीले कृषि उत्पादन र उत्पादकत्व वृद्धिका लागि सरकारले कृषि लगानी दशक घोषणा गरेको बताएका हुन् ।
लगानी दशकका लागि बैंक तथा वित्तीय संस्थामार्फत कृषिमा लगानीका लागि विशेष उत्पादनहरूमा लगानी सहजीकरण गर्ने पनि मन्त्री अधिकारीले बताए ।
‘‘निजी क्षेत्र र सहकारी क्षेत्रको लगानी अपेक्षा गरे अनुरूप हुन नसक्दा कृषिक्षेत्रको आधुनिकीकरण व्यवसायीकरण हुन सकिरहेको छैन ।,’’ मन्त्री अधिकारीले भने, ‘‘कृषिमा निजीक्षेत्रले लगानी गर्ने वातावरण निर्माण गर्न जरुरी छ ।’’
निजी क्षेत्रको सहभागिता विना लगानी दशकले सार्थकता पाउन गाह्रो रहेको बताउदै कृषि मन्त्री अधिकारीले भने, ‘‘कृषिमा लगानी दशकको अभियानले वर्तमान शासकीय संरचनाका तीनवटै तह, कृषक, सहकारी, निजी क्षेत्र, विकास साझेदारको लगानी कृषि क्षेत्रको व्यवसायीकरणमा केन्द्रित गर्ने छ ।’’
कृषि मन्त्री अधिकारीले नेपालमा उत्पादित कृषि उपजले सहज रूपमा बजार नपाइरहेको अवस्थामा एक्स्पो वा महोत्सवका माध्यमबाट स्वदेशी उत्पादनको खपतमा सहज हुने तथा बजारको सम्भाव्यताबारे जानकारी हुने बताए ।
नेपाली बजारमा दूधको खपत नहुँदा दुग्ध किसान तथा व्यवसायी मर्कामा परिरहेको जानकारी दिदै मन्त्री अधिकारीले देशमै दुग्ध पदार्थको विविधीकरणका साथै बजारी करणको खोजी गर्न आवश्यक रहेको बताए । दुग्ध विकास संस्थानमार्फत किसानलाई उपलब्ध गराउनुपर्ने दूधको मूल्य भुक्तानीका लागि सरकारले काम गरी रहेको जानकारी गराउदै उनले भने, ‘‘अब भुक्तानीको चरणमा छ । दुग्ध विकास संस्थान मार्फत दूधको मूल्य बक्यौता छिट्टै समाधान हुनेछ ।’’
दूधको मूल्य वृद्धिले छुर्पी, चिज र नौनीको उत्पादन लागत बढ्न गएको पनि मन्त्री अधिकारीले बताए । नेपाली छुर्पीको प्रतिस्पर्धात्मक क्षमता कमजोर भएको आफूलाई जानकारी रहेको पनि उनले बताए ।