झापा,भदौ २७ । सरकारले चाडबाड लक्षित सुपथ मूल्य पसल आगामी असोज ७ गतेबाट सञ्चालन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बिहीबार साल्टट्रेनिङ कर्पोरेसन लिमिटेडको ६२ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै सो कुराको जानकारी दिएका हुन् ।

मन्त्री भण्डारीले आगामी असोज ७ गतेबाट सुपथ मूल्यका पसल देशभर ४२ वटा जिल्लामा सञ्चालन हुने जानकारी दिए । साथै चाडबाडमा दुर्गम क्षेत्रमा अत्यावश्यक वस्तुको अभाव हुन नदिने गरी सुपथ मूल्यमा खाद्यान्नहरू उपलब्ध गराइने पनि जानकारी दिए ।

उनले चामल, दालमा पाँच रुपियाँ छुट दिने र चिनीमा अहिलेको बजार १०७ रहेको र घटाउने योजना बनाइरहेको बताए । उनले कृत्रिम अभाव सिर्जना गर्न नदिने पनि दाबी गरे ।

मन्त्री भण्डारीले चिनी, दाल, चिउरा, नुन, मैदालगायतका अत्यावश्यक वस्तुमा मूल्य समायोजन गरी आम उपभोक्तालाई सहज रूपमा गुणस्तरीय वस्तु उपलब्ध गराउने सरकारको उद्देश्य रहेको बताए । अत्यावश्यक वस्तुको सहज उपलब्धताको सुनिश्चितता सरकारले गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्