झापा, भदौ २८ । झापाको शिवसताक्षीमा गएराति भएको हत्याको आरोपमा मृतकका दाजुलाई प्रहरीले पक्राउ गरेको छ ।

शिवसताक्षी ८ शितल चौकका ४२ वर्षीय रामप्रसाद सिटौलाको हत्या आरोपमा उनका दाजु नारायण सिटौलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनापछि अनुसन्धानका लागि मृतकका दाजु नारायण सिटौलालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशिल थापामगरले बताए । उनले मृतकको शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल पठाइएको जानकारी दिए । गएराति करिव ९ बजे घरको पछाडिपट्टि उतानो परेको अबस्थामा रामप्रसादको शव फेला परेको थियो ।

उनको टाउकोमा चोट देखिएको छ । दाउराले प्रहार गरी हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । घटनास्थल वरिपरि दाउरा छरिएको र रगत लतपतिएको थियो । उनलाई सुतेकै ठाउँमा दाउराले हानेको हुनसक्ने बताइएको छ । दुवै दाजुभाइले मादक पदार्थ सेवन गरी झगडा गरेको र नारायणले भाइलाई दाउराको चिर्पटले हत्या गरेको हुनसक्ने आशंका छ । तीनजना दाजुभाइमध्ये मृतक रामप्रसाद माहिला हुन् । उनले विवाह गरेका थिएनन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्