लक्ष्मी उप्रेती
मेचीनगर । पूर्वी काँकरभिट्टा नाका हुँदै अलैचीको निर्यात घट्दा छुर्पीको निर्यात भने बढेको छ ।
अलैंची निर्यात तीन दशमलव ७७ प्रतिशतले घट्दा कुकुर वा विरालोको खाना छुर्पी २९ दशमलव ७९ प्रतिशतले बढेको हो । यो नाका भएर निर्यात हुने मुख्य दश वस्तुमध्ये अलैची एक र छुर्पी पाँचौ नम्बरमा छ ।
नेपालबाट बाहिरिने कुल वस्तु निर्यात घटिरहेको बेला पूर्वी काँकरभिट्टा नाकाबाट आर्थिक वर्ष २०७९÷०८० को तुलनामा गत आर्थिक वर्ष २०८०÷ ०८१ मा छुर्पीको निर्यातमा उच्च वृद्धि भएको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ । कार्यालयको अभिलेख अनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ को एक वर्षको अवधिमा काँकरभिट्टा नाका भएर एक अर्ब ४३ करोड ८२ लाख ४० हजार रुपैयाँ मूल्य बराबरको ७ लाख ६३ हजार पाँचसय छ केजी छुर्पी निर्यात भएको सूचना अधिकारी भन्सार अधिकृत गणपति कँडेलले जानकारी दिए ।
यसअघिको आर्थिक वर्षमा एक अर्ब १० करोड ८१ लाख एक हजार रुपैयाँ मूल्य बराबरको छुर्पी निर्यात भएको थियो । सो अवधिमा पाँच लाख ८७ हजार नौ सय २० किलो छुर्पी निर्यात भएको छ ।
हिमाली तथा पहाडी जिल्लामा पशुपालनबाट उत्पादित छुर्पीको विदेश निर्यात बढेसँगै विदेशी मुद्रा आर्जनमा राज्यलाई टेवा पुगेको छ । पहिला पहिला कोसेलीको रुपमा मानिसले चपाउने छुर्पी अहिले विदेशी बजारमा कुकुरको आहारा बनेको छ । पूर्वी नेपालमा उत्पादित छुर्पीको निर्यात बर्षेनि बढ्न थालेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वका फिनल्याण्ड, फ्रान्स, अमेरिका, क्यानडालगायत १९ वटा देशमा नेपाली छुर्पी पुगेको छ ।
नेपाली छुर्पीको मुख्य आयातकर्ता अमेरिका र क्यानडा रहेका छन् । अन्य देशको तुलनामा यी देशमा सवैभन्दा बढी छुर्पी निर्यात हुने गरेको भन्सार विभागले जनाएको छ । सबैभन्दा कम छुर्पी इजरायल पुग्ने गरेको छ । त्यहाँ रहेका नेपालीले कोसेलीको रूपमा छुर्पी लैजाने गरेका छन् ।