भद्रपुर, भदौ २९ । २२ हजार ९७५ संख्यामा रहेका भद्रपुरका बालबालिकाले आफ्नो क्षेत्रका सांसदसंग प्रश्न गर्दै ६० औं बाल दिवस मनाएका छन् ।

झापा ३ नम्वर क्षेत्रका संघीय सांसद राजेन्द्रप्रसाद लिङ्देन तथा कोशी प्रदेश सभा सदस्य छविलाल चुडालसंग भद्रपुरका बालबालिकाले शिक्षा क्षेत्रका विकृत पक्ष र सुधारका विषयमा प्रश्न गरेका हुन् ।

भद्रपुर ७ वडा बाल सञ्जालका अध्यक्ष नवीन तिम्सेनाको अध्यक्षता तथा संघीय सांंसद लिङ्देनको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा भद्रपुरका बालबालिकाले सरकारी शिक्षा र निजी शिक्षाको विभेद, शिक्षालयको दुरावस्था, अंग्रेजी शिक्षाका नाममा भइरहेको ब्रम्हलुट, शैक्षिक सुधारमा सरकारी उदासिनता, जीवन उपयोगी तथा व्यवहारिक शिक्षाको आवश्यकता र वर्तमान शिक्षाका विभेदकारी छिद्र अन्त्यको माग गर्दै विद्यार्थीले सांसदसंग प्रश्न गरेका थिए ।

बालबालिकाको जिज्ञासाको जवाफ दिँदै संघीय सांसद लिङ्देनले वर्तमान शिक्षा नियमावलीका कारण उत्पन्न विभेद अन्त्य गर्न अर्को ऐन संसदमा छलफलमा रहेको भन्दै सरकारी र निजी शिक्षाको विभेद अन्त्यको वातावरण बनाउन लागिपर्ने प्रतिबद्धता जनाए । राप्रपा अध्यक्षसमेत रहेका लिङ्देनले सरकारी उदासिनताले शिक्षामा आमूल परिवर्तन नभएको भन्दै अबको पुस्ता नेपालमै बस्ने वातावरण बनाउन आफूले संघर्ष गरिरहेको जानकारी दिए ।

यस्तै प्रदेश सभा सदस्य छविलाल चुडालले शिक्षा सरकारी र निजी नहुने भन्दै कुनै विभेद सिर्जना गर्नेगरी शिक्षाको अवधारणा नआएको बताए । सरकारी तथा निजी शिक्षालयका विकृति अन्त्य होस् भनेर शिक्षा सञ्चालनको अधिकार पूर्ण रूपमा स्थानीय सरकारलाई दिएको भन्दै स्तरीय शिक्षाको वातावरण बनाउन तीन तहकै सरकार जिम्मेवार हुने धारणा राखेका थिए ।

नगर युवा परिषदका अध्यक्ष आरोग्य तिम्सेनाले सहजीकरण गरेको कार्यक्रममा भद्रपुर नगर प्रमुख गणेश पोखरेलले धारणा राख्दै पछिल्लो समय बालबालिका लागूऔषधको दुर्व्यसनमा फस्न थालेकोमा चिन्ता गर्दै यस्ता विकृतिमा बालबालिका फसाउनेहरूसित सावधान रहन आग्रह गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्