द्रोण अधिकारी,
भद्रपुर । भद्रपुर–३ स्थित अरनिको माध्यमिक विद्यालयले विगत १४ वर्षदेखि अलपत्र भवनमा पठनपाठन गराइरहेको छ । काठका साँघुरा कोठामा घामपानीबाट ओत लागेर विद्यार्थीहरुले असहज रुपमा पढिरहेका छन् ।सुविधासम्पन्न भवनमा पढ्न पाउने उनीहरुको आशा तत्काल पूरा हुने देखिदैन ।

भारतीय दूतावासको आर्थिक सहयोगमा सुविधासम्पन्न भवन बन्ने आश देखाइएपछि २०६७ सालमा काठेभवन हटाएर निर्माण थालिएको विद्यालय भवन अलपत्र पर्दा विद्यार्थीहरुको पठनपाठन कष्टकर बनेको हो ।

२०६७ सालबाट निर्माण थालिएको विद्यालय भवन १४ वर्ष पार गर्दा समेत सम्पन्न हुन नसकेको हो । अलपत्र भवनमै कष्टकर पठनपाठन भइरहेको दृष्यले बालमैत्री भद्रपुर नगर सरकारलाई गिज्याइरहेको छ ।
भारतीय दूतावासको सहयोगमा निर्माणाधीन भवन वर्षौयता अलपत्र छाडेर निर्माण कम्पनीको ठेकेदार बेपत्ता छन् । अधुरो विद्यालय भवनमा पठनपाठनका लागि अनुकूल वातावरण बन्न नसक्दा समस्या भइरहेको अध्ययनरत छात्रछात्राहरुले दुखेसो पोख्ने गर्दछन् ।

भवन नबन्ने निश्चित भएपछि कष्ट सहेर पढिरहेका विद्यार्थी, अभिभावक तथा शिक्षक कर्मचारीले जिल्ला समन्वय समिति, शिक्षा विकास तथा समन्वय इकाईलगायत जिम्मेवार निकायमा पटक पटक धर्ना दिँदै समस्या समाधानका लागि दबाबसमेत दिएका थिए ।

३२ कोठे दुई तले विद्यालय भवन अधुरो छाडेर निर्माण कम्पनीका ठेकेदार सम्पर्कविहीन बनेको पनि वर्षौ भयो । तत्कालीन जिल्ला विकास समितिको मातहतमा निर्माण थालनी भएको भवन निर्माण गर्ने स्वामित्व भद्रपुर नगरपालिकासंग आएपनि स्थानीय सरकार नै बेखबरजस्तै बनेको गुनासो छ ।

भवन नबनेकाले कक्षा कोठामा बिजुली बत्ती, पंखा जडान हुन सकेको छैन । खानेपानी र शौचालयको समस्या पनि त्यस्तै छ । विद्यालयको गेटसँगै वरिपरि घेराबारा नहुँदा विद्यार्थी र शिक्षक दुवै असुरक्षित महसुस गर्न बाध्य छन् ।

२०२४ सालमा स्थापना भएको अरनिको माविको भवन स्तरोन्नतिका लागि भारत सरकार तथा भारतीय दूतावासले चार करोड २१ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । २०६७ सालमा ३ करोड ८६ लाखमा राजधानी कन्स्ट्रक्सन काठमाडौंका सुवास लामाले भवन निर्माणको लागि ठेक्का लिएर करिव चार वर्षपछि अर्थात् २०७१ साल चैतदेखि भवन निर्माणको काम सुरु गरेको विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम खरेलले जानकारी दिए । प्रधानाध्यापक खरेलले भने, ‘ठेकेदारले भवन निर्माण कार्यमा सुरुदेखि नै ढिलासुस्ती गरेकै हो, भवन निर्माण पूरा नभएपछि झ्याल, ढोका नभएकै कक्षाकोठामै सर्न बाध्य भयौँ।’

भवन निर्माणको विषयमा पटकपटक तत्कालीन जिल्ला विकास समितिलाई जानकारी गराउँदा समेत कुनै सुनुवाइ नभएको उनको भनाइ छ । जिविस खारेज भएर स्थानीय तहमा अधिकार प्रत्यायोजन भएपछि पनि पटक पटक स्थानीय सरकारलाई गुहार्दा समेत सुनुवाइ नहुँदा अलपत्र भवनमा पठनपाठन गर्नु पर्ने बाध्यता रहेको गुनासो प्रअ खरेलको छ ।

विद्यालय भवन अलपत्र छाडेर ठेकेदार भागेपछि पठनपाठनमा समस्या भएको अध्ययनरत विद्यार्थीको गुनासो छ । उनीहरूका अनुसार विद्यालयभित्र पढ्न साह्रै समस्या छ, कक्षाकोठामा झ्याल ढोका छैनन्, बर्खामा पानी पस्छ, गर्मीमा बस्न सकिँदैन । सुरक्षित विद्यालय भवनबाट पठनपाठन गर्न पाउने अधिकारविहीन हुनु परेको विद्यार्थीहरूको दुखेसो छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्