झापा , भदौ २९ । नेपाली कांग्रेसको  भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समितिको प्रथम नगर भेला शनिवार सम्पन्न भएको छ । 

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बिर्तामोड नगर अध्यक्ष आनन्द गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि संविधानसभा सदस्य तथा कांग्रेस नेता सुधिरकुमार शिवाकोटी रहेका थिए । कार्यक्रमको विशिष्ट अतिथिमा कांग्रेसका महासमिति सदस्य तथा जिल्ला कोषाध्यक्ष जलकुमार गुरुङ रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी , विशिष्ट अतिथि गुरुङ, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष दिलकुमार नेम्वाङ , कांग्रेसका जिल्ला सदस्य निर्मल भट्टराई , प्रदेश सभापति लक्ष्मी आचार्य , कांग्रेसका बिर्तामोड ८ का वडा सभापति उत्तम कट्वाललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा ज्येष्ठ नागरिक विर्खबहादुर गुरुङलाई सम्मान गरिएको थियो । कार्यक्रममा कांग्रेसका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि , जिल्ला सदस्य , नगर सदस्यलगायत अधिकांश पार्टीकै कार्यकर्ता उपस्थित रहेका थिए ।

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समितिका उपाध्यक्ष जंगबहादुर श्रेष्ठले स्वागत गरेको कार्यक्रमको संचालन सचिव दिनेश श्रेष्ठले गरेका थिए । कांग्रेसको सवैभन्दा कान्छो भ्रातृ संस्थाको रुपमा लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ रहेको छ । बिर्तामोडमा २०८० सालमा महासंघको नगर समिति गठन भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्