बिर्तामोड, भदौ २९ । सामाजिक संजालमध्ये सबैभन्दा बढी चलेको फेसबुकको माध्यमबाट प्रेम सम्बन्ध बनाउने कतिपयको सफल भएको छ भने धेरैको असफल नै बनेको छ । मनिशा लोहार र अनिल विकबीचको फेसबुके मायाको पनि त्यसरी नै दुःखद अन्त्य भएको छ ।

फेसबुके माया गहिरो बन्न नसक्दा कैलाली गौरीगंगा नगरपालिका–३ बस्ने २० वर्षीय अनिलले आफ्नी प्रेमिका इलाम सूर्योदय नगरपालिका १० फिक्कलकी १९ वर्षीया मनिशालाई हिजो साँझ अर्जुनधारा ६ को महानन्द चौकमा छुरा प्रहार गरी हत्या गरे ।
दुवैजना अढाई वर्षअघि फेसबुकबाट जोडिएका थिए । अनिलको घर कैलाली भएपनि उनी पूर्वतर्फ आइरहने भएकाले दुवैबीच बाक्लै भेटघाट भइरह्यो । उनी भारतको सिलिगुडीमा कपडाको मार्केटिङ गर्ने गरेका थिए । अनिलका परिवारका सदस्य सबै भारतमा बस्ने गरेका छन् । मनिशा बिर्तामोड नगरपालिका– ५ पाथीभरा टोलमा डेरा बसेर एक मेनपावर कम्पनीमा काम गर्थिन् । दुवैको उमेर र जातले मिलेपनि स्वभाव नमिल्दा उनीहरुको प्रेम सम्बन्ध टिकेन । आवेशमा आएर अनिलले छुरा हानेर मनिशाको हत्या गरे । अनिल छिटो आवेशमा आउने गर्थे । ‘छिटो टेम्परमा आउने मेरो स्वभाव मनिशालाई मन परेको थिएन ’प्रहरीसंगको बयानमा अनिलले भनेका छन् ।
हिजो साँझ घटना भएको दिन भेट हुँदा कुराकानीकै क्रममा दुवैबीच विवाद भएको बताइएको छ । अनिलले दुईजना संगै बाटोमा हिड्दै आउँदा विवाद भएको बताएका छन् । तर, मनिशाका साथी सानीले अटोबाट उत्रिसकेपछि अनिलले मनिशालाई छुरा हानेको बताएकी छन् ।
अनिलले हिजो साँझ ६.३० बजेतिर अर्जुनधारा ६ को महानन्द चोकमा आफ्नी प्रेमिका मनिशालाई छुरा प्रहार गरी हत्या गरेका थिए ।छुरा प्रहार गर्ने अनिललाई स्थानीयले प्रतिकार गर्दा उनी घाइते भएका छन् ।युवतीलाई छुरा प्रहार गरी गम्भीर घाइते बनाई भाग्ने क्रममा स्थानीय ब्यक्तिहरुले कुटपिट गरी अनिललाई घाइते बनाएको प्रहरीले जनाएको छ । अनिलको हाल प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । उनको टाउकोमा ४ टाँचा लगाइएको छ भने आँखामा सामान्य चोट रहेको छ । उनको अबस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ ।



