विनोद सापकोटा
झापा, भदौ ३० ।
कहिँ नभएको जात्रा हाँडीगाउँमा भनेको उखान झापाको शिवसताक्षीमा चरितार्थ भएको छ। कार्यपालिका बैठकले अयोग्य निर्णय गरेका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईलाई करिब एक महिनापछि सम्मानसहित विदाई गरिएको छ।
विदाई समारोहमा नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रा र उपप्रमुख नरमाया कार्की प्रत्यक्ष सहभागी थिए । कार्यपालिकाको बैठकको निर्णय पुस्तिकामा नगरप्रमुख र उपप्रमुख दुवै जनाले हस्ताक्षर गरेका छन्। उनीहरूले मात्र होइन, कार्यपालिकाको शतप्रतिशत सदस्य संख्याले निर्णयमा हस्ताक्षर गरेका छन्।
प्रमुख प्रशासकीय अधिकृत राईको विदाई कार्यक्रममा नगरपालिकाका शाखा प्रमुख लगायतका अन्य कर्मचारी पनि उपस्थित थिए । नगरपालिकामा उपलब्ध अन्य कर्मचारी पनि बिदाई कार्यक्रममा सहभागी भएका हुन् । कतिपय कर्मचारी विदाई समारोहमा खबर पाएर पनि गएनन् ।
गएको साउन २४ गतेको कार्यपालिका बैठकमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले अस्वाभाविक र जनप्रतिनिधिप्रति अमर्यादित टिका टिप्पणी गरेपछि उनलाई कार्यपालिकाबाट मन्त्रालय फिर्ता पठाउने निर्णय गरेको थियो।
निर्णयमा भनिएको छ, ‘यस शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईको हालसम्मको कार्यसम्पादन कमजोर तथा सन्तोषजनक नरहेको हुँदा एवं जनप्रतिनिधि र कार्यपालिकाप्रति उत्तरदायी नदेखिएको हुँदा निजलाई आजकै मितिदेखि संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउन मन्त्रालयमा अनुरोध गर्ने र अर्को प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गर्न नगर प्रमुखलाई जिम्मेवारी दिने यो निर्णय गरियो । ’ कार्यपालिकाले यो निर्णय साउन २८ गते गरेको हो।
यो निर्णय भइरहँदा प्रमुख प्रशासकीय अधिकृत राई कार्यपालिका बैठक छोडेर बाहिरिएका थिए। उनले कार्यपालिका बैठकको उपस्थितिमा समेत हस्ताक्षर गरेका थिएनन्।कार्यपालिकाले निर्णय गरेको ठिक एक महिनापछिको विदाई कार्यक्रम र कार्यपालिकाको निर्णयले आम नगरवासीलाई गिज्याएको कार्यपालिकाका एक सदस्यले बताए । ‘नगरपालिकाका प्रमुख, उपप्रमुख स्वयं प्रमुख प्रशासकीय अधिकृतलाई हटाउने र सम्मानसहित विदाई गर्ने कार्यक्रममा प्रमुख पात्रका रूपमा उपस्थित हुनु लाजमर्दो विषय हो’ ती कार्यपालिका सदस्यले भने ।
शिवसताक्षी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई आएदेखि नै विवादित बनेका थिए । नगर कार्यपालिकाद्वारा गठित विभिन्न उपसमितिको बैठकमा उपस्थित हुने, आफू अनुकूलको निर्णय गराउने, आफू प्रतिकूलको निर्णय भए अस्वाभाविक रूपमा रिसाउने र अशोभनीय हर्कत देखाउनाले उनी कार्यपालिकामा निकै आलोचित बनेका थिए।
शिवसताक्षी नगरपालिकाको घर नक्सा किर्ते प्रकरणमा दुईवटा छानबिन समितिले देखाएको प्रतिवेदनमा दोषीलाई कारबाही गर्न उनले विभिन्न बहाना देखाएर हलो अड्काउने काम गर्दै आएको आरोप लागेको थियो । उनको यस्तै हर्कतले कार्यपालिकाले हटाउने निर्णय गरेको समाचार स्रोतले बताएको छ। यसअघिका प्रमुख प्रशासकीय अधिकृतको औपचारिक रूपमा स्वागत र बिदाई दुवै गरिएको थिएन ।