लक्ष्मी उप्रेती

मेचीनगर । झापाको मेचीनगर —१३ स्थित चारआलीमा रहेको सर्पदंश उपचार केन्द्रलाई अनुसन्धान केन्द्रका रुपमा विकास गरिने भएको छ ।

यसको तयारी समेत भईसकेको बताइएको छ । केन्द्रका सञ्चालक सदस्य हिरा पोखरेलका अनुसार यसका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष तथा ईन्टर्नल मेडिसिन विभागका प्रा.डा.सञ्जीवकुमार शर्माको नेतृत्वमा यस क्षेत्रमा पाईने विषालु र सामान्य प्रकारका सर्पहरुको अनुसन्धान गर्न जेनेभाबाट अनुसन्धानकर्ताहरु सर्पदंश उपचार केन्द्रमा अनुसन्धानका लागि आएर एक वर्षसम्म अनुसन्धान गरी त्यसको प्रतिवेदनसमेत नेपाल सरकारमा बुझाइ, विश्व स्वास्थ्य संगठनमा समेत यस क्षेत्रको स्वास्थ्य अवस्थाको प्रतिवेदन पेश भएको थियो ।

जेनेभाबाट आएको अनुसन्धानकर्ताहरुको टोलीले यस सर्पदंश उपचार केन्द्रलाई केही उपकरणसहित एन्टी स्नेक भेनम सिरम र एक वर्षभित्रमा बिषालु सर्पको टोकाईबाट बिरामी भएका बिरामीहरुले बुझाउनुपर्ने न्यूनतम शुल्क समेत उपलब्ध गराएको थियो । पोखरेलका अनुसार सर्प दंश उपचार केन्द्र सञ्चालन व्यवस्थापन समितिको हालै सम्पन्न २० औँ साधारणसभाले समेत केन्द्रलाई यस क्षेत्रमा पाईने विषालु र सामान्य प्रकारका सर्पहरुको अनुसन्धान गर्न अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने प्रस्ताव अघि सारेको थियो । प्रस्तावप्रति सवैको सकरात्मक धारणा आएपछि केन्द्रले केन्द्र वरिपरिका मेचीनगर, विर्तामोड, भद्रपुर, अर्जुनधारा नगरपालिका र बुद्धशान्ति तथा हल्दिवारी गाउँपालिका गरी छ वटा पालिकाका प्रमुखहरुसहितको सल्लाहकार समिति निर्माण गरिएको छ ।

केन्द्रबाट २०६२÷०६३ देखि २०८०÷०८१ सम्म २० हजार एकसय २५ जना बिरामीले सेवा लिएका छन् । बिषालु सर्पको टोकाईबाट बिरामी भएका नौ सय १० जना मध्ये हालसम्म ३० जनाको मृत्यु भएको र आठ सय ८० जना बिरामीहरु बाँच्न सफल भएको केन्द्रको प्रतिवेदनमा उल्लेख छ । आठ हजार नौसय ६ जना पुरुष, आठ हजार तीनसय महिला दुईहजार नौ बालबालिका गरी कुल १९ हजार दुई १५ जनालाई सामान्य सर्पले टोकेको, तीन सय ९३ पुरुष, तीनसय ९२ महिला र ९५ बालबालिका गरी कुल आठ सय ८० जनालाई विषालु सर्पले टोकेको र ३० जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

यस उपचार केन्द्रमा सर्पको टोकाईबाट झापा, मोरङ, सुनसरी, पूर्वी पहाडी जिल्लाहरु ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, धनकुटालगायत सीमावर्ती भारतको पश्चिम बंगालको सिलिगुडी , नक्सलबारी,, खोरीबारी, बतासी, अधिकारीसहित विहार राज्यको गलगलिया, ठाकुरगञ्ज, डिगल बैंकक्षेत्रबाट समेत उपचारका लागि आउने गरेको अध्यक्ष दुर्गाप्रसाद भट्टराईको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्