बिर्तामोड, भदौ ३१ ।बिर्तामोडका रात्रिकालीन होटल व्यवसाय सञ्चालनका विषयमा मापदण्ड बनाइने भएको छ ।


नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा सोमवार बसेको सर्वपक्षीय बैठकले सरोकारवाला पक्षसँग छलफल गरी आवश्यक मापदण्ड बनाएर जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।बिर्तामोडका होटल व्यवसायीले राति १२ बजेसम्म व्यापार गर्ने व्यवस्था मिलाईदिन आग्रह गर्दै नगरपालिकामा ज्ञापनपत्र बुझाएका थिए । सोहीअनुरुप नगरपालिकाले ईलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोड उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ झापा, जिल्ला ट्राफिक प्रहरी कार्यालयलगायत विभिन्न पार्टी प्रतिनिधि र सरोकारवाला निकायसंग छलफल गरेको हो ।

बैठकले सबै सरोकारवाला पक्षबाट बजारको अनुगमन गर्ने, बजार क्षेत्रमा जोडिएका सिसि क्यामेराको मर्मत तथा आवश्यकता अनुसार थप जडान गर्ने विषयमा बिर्तामोड नगरपालिका र बिर्तामोड उद्योग उद्योग बाणिज्य संघको आर्थिक सहयोग तथा इलाका प्रहरी कार्यालयले अगुवाई गर्ने, बिर्तामोडमा रहेका अन्य व्यापार व्यवसाय विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म संचालन गर्न उद्योग बाणिज्य संघमार्फत् व्यवसायीहरुलाई अनुरोध गर्ने, आपराधिक गतिविधि न्यूनीकरण र शान्ति सुरक्षा सुव्यवस्था कायम राख्न इलाका प्रहरी कार्यालय अनारमनीले विशेष सुरक्षा योजना बनाई लागु गर्ने पनि निर्णय गरेको छ ।

यस्तै सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय, बिर्तामोड र मेची यातायात व्यवस्था कार्यालय, बिर्तामोडले ट्राफिक व्यवस्थापनको कार्ययोजना तयार गरी नगरपालिकामा पेश गर्ने र निर्णयहरु कार्यान्वयनमा सबै राजनितिक दल तथा संघ संस्थाले आ–आफ्नो तर्फबाट सक्दो सहयोग पुर्याउने निर्णय गरेको छ ।

बैठकमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नम्बर २ का वडाअध्यक्ष किशोर पौडेल, वडा नम्बर ४ का वडाअध्यक्ष राहुल शर्मा, वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाई, वडा नम्बर ६ का वडाअध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, वडा नम्बर १० का वडाअध्यक्ष दुर्योधन गुरुङ,नेकपा एमालेका क्षेत्र नम्बर २ संयोजक बद्री भट्टराई, नेकपा माओबादी केन्द्रका बिर्तामोड अध्यक्ष मोहन सुव्वा, राप्रपा बिर्तामोड अध्यक्ष रञ्जु प्याकुरेल, ईलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी प्रकाश विष्ट, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, औषधी व्यवसायी संघ झापाका अध्यक्ष जीवन खड्का, होटल व्यवसायी संघ झापाका अध्यक्ष ईन्दिरा श्रेष्ठ, उपभोक्ता जागरण अभियानका विशाल थापालगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्