दमक, असोज १ । झापाको कमल– ५ स्थित लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा गठबन्धनका उम्मेद्वारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार उषा भण्डारीले अग्रता लिएकी छन् ।

क्षेत्र नं १ र २ को मतगणना सकिँदासम्म स्वतन्त्र उम्मेदवार भण्डारीले ४०२ मत ल्याउँदै सबैलाई उछिनेकी हुन् । त्यसपछि दोस्रो स्थानमा रहेका एमालेको नेतृत्वमा राप्रपा र जसपाको गठबन्धनबाट अध्यक्षमा उठेका डम्बरबहादुर निरौलाले ३९६ मत ल्याएका छन् ।

त्यस्तै नेपाली कांगेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र र लिम्बूवानको गठबन्धनबाट अध्यक्षका उम्मेद्वार बनेका राजकुमार न्यौपानेले १७१ मत पाउँदा अर्का स्वतन्त्र उम्मेद्वार कृष्णबहादुर भण्डारीले १२६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी अर्का स्वतन्त्र उम्मेद्वार खेम गुरागाईले २७ मत पाएको निर्वाचन समितिका संयोजक दिपेन्द्र लामिछानेले बताए ।

त्यस्तै क्षेत्र नं १ र २ को खुल्ला र महिला सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार क्षेत्र नं १ बाट खुल्ला सदस्यमा हेमराज कार्की भीम र महिला सदस्यमा कमला राई गुरुङ निर्वाचित भएका छन् ।

त्यस्तै क्षेत्र नं २ बाट खुल्ला सदस्यमा इश्वरीकुमार बुढाथोकी र महिला सदस्यमा लोविता राई निर्वाचित भएको निर्वाचन समितिका संयोजक लामिछानेले जानकारी दिए । बाँकी ३ वटा क्षेत्रको मतगणना जारी रहेको छ । हिजो भएको मतदानमा २ हजार ८ सय ९८ मत खसेको थियो ।

संस्थाको आफनै कार्यालयमा हिजो विहान ७ बजेदेखि शुरु भई अपरान्ह ५ बजेसम्म मतदान चलेको थियो । मतदानमा ८०.२५ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ । ४ हजार ९ सय बढी उपभोक्ता भएपनि मतदानमा भने ३ हजार ६ सय ११ उपभोक्ता मात्र मतदातायोग्य थिए ।

जसमध्ये क्षेत्र नं १ मा ७५९ मध्ये ६२९, क्षेत्र नं २ मा ७६० मध्ये ६३१ ,क्षेत्र नं ३ मा १९२ मध्ये १७९ ,क्षेत्र नं ४ मा १०५० मध्ये ८४६ र क्षेत्र नं ५ मा ८०४ मध्ये ६२३ मत खसेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्