दमक,असोज १ । झापाको कमल– ५ स्थित लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा दुई समूहमा उत्रिएका गठबन्धनका उम्मेद्वारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार उषा भण्डारीले अग्रता कायम राखेकी छन् ।

क्षेत्र नं १ , २ र ३ को मतगणना सकिँदासम्म स्वतन्त्र उम्मेदवार भण्डारीले आफ्ना चार प्रतिपर्धीलाई उछिन्दै अग्रता कायम राखेकी हुन् । उनले ५७४ मत ल्याएकी छन् । दुई कार्यकाल अध्यक्षको नेतृत्व सम्हालिसकेकी भण्डारी आफनो तेस्रो कार्यकालका लागि पुनः चुनावी मैदानमा उत्रिएकी हुन् । पहिलो कार्यकालमा निर्वाचित भएकी उनी दोस्रो कार्यकाल सहमतिमा अध्यक्ष चुनिएकी थिइन् ।यसपटकको निर्वाचनमा एमालेबाट विद्रोह गरी स्वतन्त्र उम्मद्वार बनेकी भण्डारीले जित्न सक्ने आँकलन गरिएको छ ।भण्डारीलाई पार्टी निर्देशन अवज्ञा गरेको भन्दै एमालेले पार्टी सदस्यता नरहने गरी निष्कासनसम्मको कारवाही गरेको थियो ।
त्यसपछि दोस्रो स्थानमा नेकपा एमालेको नेतृत्वमा राप्रपा र जसपाको गठबन्धनबाट अध्यक्षमा उठेका डम्बरबहादुर निरौलाले ५३१ मत ल्याएका छन् । निरौला कमल ५ का पूर्व वडाअध्यक्षसमेत हुन् ।
त्यस्तै नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र र लिम्बूवानको गठबन्धनबाट अध्यक्षका उम्मेद्वार बनेका राजकुमार न्यौपानेले २२२ मत पाउँदा अर्का स्वतन्त्र उम्मेद्वार कृष्णबहादुर भण्डारीले २४० मत प्राप्त गरेका छन् । त्यसैगरी अर्का स्वतन्त्र उम्मेद्वार खेम गुरागाईले ५८ मत पाएको निर्वाचन समितिका संयोजक दिपेन्द्र लामिछानेले बताए ।
उपाध्यक्षतर्फ लोकतान्त्रिकका विद्रोही उम्मेद्वार प्रमोद दाहालले ४ सय ६० मत ल्याएर अग्रता लिइरहेका छन् । लोकतान्त्रिक गठबन्धनका दिनेश अधिकारीलाई उनले उछिनेका हुन् । अधिकारीले ४५८ मत ल्याएका छन् । त्यस्तै एमालेको नेतृत्वमा राप्रपा र जसपाको गठबन्धनबाट उठेका गंगाप्रसाद पाण्डेले ३९३ मत ल्याएका छन् । अर्का प्रत्यासी विनोद खरेलले १६६ मत ल्याएका छन् ।
सचिव पदमा स्वतन्त्र समूहका यामप्रकाश सुब्बाले ५ सय ८६ मतसहित अग्रता लिएका छन् । उनीसँगको प्रतिस्पर्धामा रहेका एमाले नेतृत्वको साझा समूहका हरि घिमिरेले ५०५ मत प्राप्त गरेका छन् कांग्रेस नेतृत्वको लोकतान्त्रिकका निधिरत्न अधिकारीले २ सय ७५ मत ल्याएका छन् ।
सह–सचिवमा साझा समूहकी धनकुमारी राईले ८ सय ८४ मतसहित अग्रस्थान ओगटेकी छिन भने लोकतान्त्रिककी उम्मेदवार बिमला भट्टराईले ३ सय ४६ र स्वतन्त्रकी गोमा तिवारीले २ सय ९ मत ल्याएका छन् ।
त्यस्तै लेखा समिति संयोजकको निर्वाचनमा स्वतन्त्र उम्मेद्वार युवराज कार्कीले अग्रता लिएका छन् । उनले ४१४ मत ल्याएका छन् । उनका प्रतिष्पर्धीहरु पशुपति धितालले ४ सय १२ र धर्मानन्द भट्टराईले ३ सय ६३ मत ल्याएका छन् ।
त्यस्तै क्षेत्र नं १ , २ र ३ को खुल्ला र महिला सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार क्षेत्र नं १ बाट खुल्ला सदस्यमा हेमराज कार्की (भीम ) र महिला सदस्यमा कमला राई गुरुङ निर्वाचित भएका छन् ।
त्यस्तै क्षेत्र नं २ बाट खुल्ला सदस्यमा इश्वरीकुमार बुढाथोकी र महिला सदस्यमा लोविता राई निर्वाचित भएका छन् । त्यस्तै क्षेत्र नं ३ बाट खुल्ला सदस्यमा निरबहादुर श्रेष्ठ निर्वाचित भएको निर्वाचन समितिका संयोजक लामिछानेले जानकारी दिए । बाँकी २ वटा क्षेत्रको मतगणना जारी रहेको छ । हिजो भएको मतदानमा २ हजार ८ सय ९८ मत खसेको थियो ।
संस्थाको आफनै कार्यालयमा हिजो विहान ७ बजेदेखि शुरु भई अपरान्ह ५ बजेसम्म मतदान चलेको थियो । मतदानमा ८०.२५ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ । ४ हजार ९ सय बढी उपभोक्ता भएपनि मतदानमा भने ३ हजार ६ सय ११ उपभोक्ता मात्र मतदातायोग्य थिए ।
जसमध्ये क्षेत्र नं १ मा ७५९ मध्ये ६२९, क्षेत्र नं २ मा ७६० मध्ये ६३१ ,क्षेत्र नं ३ मा १९२ मध्ये १७९ ,क्षेत्र नं ४ मा १०५० मध्ये ८४६ र क्षेत्र नं ५ मा ८०४ मध्ये ६२३ मत खसेको जनाइएको छ । आज साँझसम्म अन्तिम मतपरिणाम सार्वजनिक गरिसक्ने निर्वाचन समितिले जनाएको छ ।