झापा,असोज २ । पहाडी जिल्ला भोजपुरका कृषकमा अकबरे खुर्सानीको मोह बढेको छ । पछिल्लो समय अन्य बाली छाडेर यहाँका अधिकांश ठाउँमा अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गरिएको छ ।
खुर्सानी बिक्रीबाट राम्रो आम्दानी हुने भएपछि कृषकमा उत्साह थपिएको हो । जिल्लामा उत्पादन भएको खुर्सानी भोजपुरमा मात्र खपत हुँदैन । यसको माग तराईदेखि काठमाडौँसम्म पनि उत्तिकै छ ।
अकबरेको व्यावसायिक खेती गर्दै आएका भोजपुर नगरपालिका–५ का कृषक फवीन्द्र प्रधानले मेहनत गर्न सकेमा खुर्सानी खेतीबाट राम्रो आम्दानी हुने गरेको बताए । उनले भने, “अहिले प्रतिकेजी रु दुई सय ५० देखि रु तीन सयका दरले खुर्सानी बिक्री हुँदै आएको छ । मैले करिब २० रोपनी क्षेत्रफलमा व्यावसायिक कृषि गर्दै आइरहेको छु ।”
खुर्सानीबाट राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएर यसको खेती गर्नेहरू पनि छन् । जिल्लाका षडानन्द, अरुण, भोजपुर, टेम्के मैयुङलगायत गाउँपालिकामा व्यावसायिक खुर्सानी खेती भइरहेको छ । कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार नेपालका प्रायः सबै भू–भागमा अकबरे खुर्सानीको खेती हुने भए पनि पहाडी जिल्लामा राम्रो उत्पादन हुने गरेको छ । प्रदेशका पहाडी जिल्ला इलाम, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर लगायतका जिल्लामा यसको उत्पादन धेरै हुने गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्