झापा, असोज २ । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः सुवास भट्टराई निर्वाचित भएका छन् । उनी दोस्रो कार्यकालका लागि अध्यक्षमा चुनिएका हुन् ।

निर्वाचन कार्यक्रमबाट उनीसहित पुरानै समिति दोहोरिएको छ । संस्थाको सञ्चालक समितिको अध्यक्षमा भट्टराई, उपाध्यक्षमा किरण कपुरी, सचिवमा इन्द्रबहादुर कार्की र कोषाध्यक्षमा मेहरमान बिष्ट निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा लीला अधिकारी मुखिया, शशिकला मुखिया सुनुवार, चन्द्रकला भट्टराई, प्रकाश भट्टराई र नविन योगी पनि निर्बिरोध निर्वाचित भएका छन् । त्यसैगरी लेखा समितिको संयोजकमा रमेशकुमार अधिकारी, सदस्यमा मीनप्रसाद गुरागाई र ओमराज राई पनि निर्विरोध निर्वाचित भएका छन् । संस्थाको १४ औं माइन्युट प्रमाणिकरण सभामा निर्वाचित पदाधिकारी, सदस्य र लेखा समितिलाई निर्वाचन समितिले सपथ ग्रहण गराएको छ ।

साधारण सभाका अवसरमा दुई जना पत्रकारसहित संस्थाका उत्कृष्ट सेवाकेन्द्र र बचतकर्तालाई सम्मान गरिएको थियो । संस्थाले प्रेस युनियन माईपश्चिमका संयोजक विष्णु पौडेल र प्रेस चौतारी झापाका उपाध्यक्ष प्रदीप परियारलाई जनही नगद १० हजार रुपैयाँसहित सम्मान गरेको हो । त्यस्तै, संस्थामा उत्कृष्ट कारोबार गर्ने कमल पाण्डे, अजय साह, विरबहादुर राई र फूलमाया तामाङ, पर्शुराम बस्नेतलाई सम्मान गरिएको छ भने उत्कृष्ट सेवाकेन्द्रका रुपमा सेवाकेन्द्र धुलाबारी र मधुमल्लालाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । त्यस्तै सदस्य बब्ली खातुनलाई एउटा सिलाई मेशिन प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईं, संस्थाका अध्यक्ष सुवास भट्टराई, कार्यकारी प्रमुख कमलबहादुर बस्नेतलगायतले सम्मान एवम् पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि प्रसाई, झापा जिल्ला सहकारी संघका सञ्चालक समिति सदस्य केशव बस्नेत, पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्