बिर्तामोड, असोज ३ । बिर्तामोड नगरपालिकाले राष्ट्रिय शिक्षा दिवस तथा बाल दिवसको अवसरमा भदौ २९ गते आयोजना गरेको नगरस्तरीय वक्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ ।

‘स्वदेशमै शिक्षा र स्वदेशमै रोजगारी’ विषयमा बिर्तामोड नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा कक्षा ९ र १० मा अध्ययनरत सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयबाट ३० जना विद्यार्थीले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा मोहनमाया माध्यमिक विद्यालयकी छात्रा एलिना तिम्सिना प्रथम, न्यूटन्स एकाडेमीकी छात्रा रोसिना दाहाल द्वितीय, एभरेष्ट स्मार्ट स्कुलकी प्राप्तिका निरौला तृतीय, सेन्ट जेभियर्सका छात्र प्रयास गिरी र महेन्द्ररत्न माध्यमिक विद्यालयकी छात्रा स्मृति आचार्य सान्त्वना भएका थिए ।विजेताहरु प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः ४ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस्तै भदौ ३० गते आयोजना गरिएको कक्षा १ देखि ५ र कक्षा ६ देखि ८ सम्मका विद्यार्थीविच आयोजना गरिएको चित्रकला प्रतियोगिताका विजेताहरुलाई पनि पुरस्कार वितरण गरिएको छ । कक्षा १ देखि ५ कक्षासम्मको प्रतियोगितामा दक्षा काफ्ले न्यूटन्स एकाडेमी प्रथम, फोक्नाम लिम्बू कन्चन ईंग्लिस बोर्डिङ् स्कुल द्वितीय, श्रुतिका पोखरेल चिल्ड्रेन ईंग्लिस स्कूल तृतीय, अदिती बराल अनारमनी लिबर्टी र पन्चु हेमरम जनता प्रावि सान्त्वना भएका छन् ।

यस्तै कक्षा ६ देखि ८ सम्मका विद्यार्थीको लागि आयोजना गरिएको चित्रकला प्रतियोगितामा चेन्जल राजवंशी न्यूटन्स एकाडेमी प्रथम, भव्या लोहारीवाला सेन्ट जेभियर्स स्कुल द्वितीय, सिरोन शिवाकोटी ग्रिनफिल्ड तृतीय र बिनिता मुर्मू चिल्ड्रेन इन्भारोमेन्ट सान्त्वना भएका छन् । यी दुवै प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ४ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् ।

नगरपालिकाले २०८० सालको आधारभूत तहमा उत्कृष्ट (4GPA) ल्याउने विद्यार्थीलाई समेत पुरस्कृत गरेको छ । पुरस्कृत हुनेहरुमा दिप्ती सुवेदी मोहनमाया मा.वि, विनिसा अग्रवाल र चिरायु न्यौपाने बाल्मीकि एकाडेमीका रहेका छन् । उनीहरुले जनही १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । पुरस्कृत हुने विद्यार्थीहरुलाई नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारीलगायतले खादा लगाएर नगदसहित प्रमाणपत्र प्रदान गरे । सोहि कार्यक्रमका विच सेवानिवृत ९ जना शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्