झापा, भदौ ३ । बीएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाई नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानले प्रसाईविरुद्धको पक्राउ पुर्जी फिर्ता लिन आग्रह गरेको छ ।

सरकारले तत्काल फिर्ता नलिए आन्दोलन गर्ने सो संगठनले चेतावनीसमेत दिएको छ । अभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाई , प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेमाथि कपोकल्पित र झुटो मुद्दा दायर गर्दै पक्राउ पुर्जी जारी गरी राज्यले दमनकारी नीति अपनाएको ठहर गरिएको छ । सो नीति सरकारले तत्काल फिर्ता नलिए आज देशैभर विरोध सभा, राँके जुलुस, बिरोध प्रदर्शन गर्ने र भोलिबाट देशैभर चक्काजाम , बिरोध सभा, धर्ना लगायतका कार्यक्रम अघि बढाउने विज्ञप्तिमार्फत अभियानले चेतावनी दिएको छ ।

विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । काठमाडौं जिल्ला अदालतले प्रसाईं, जीवन पाण्डे र प्रकाशचन्द्र दाहाललाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

उनीहरुमाथि विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघन गरेको आरोपमा प्रहरीले पक्राउका लागि अनुमति माग गरेअनुसार न्यायाधीश महेन्द्र काफ्लेको इजलासले पुर्जी जारी गरेको जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्