झापा, भदौ ३ । बीएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाईलाई पक्राउ पुर्जी जारी गरिएकोमा त्यसको विरोधमा विभिन्न ठाउँमा प्रदर्शन थालिएको छ ।

यसक्रममा आज दिउँसो उनका समर्थकहरुले झापाको दमकमा विरोध प्रदर्शन गरेका छन् ।दमक– ५ स्थित गोर्खा डिपार्टमेन्ट अगाडिबाट राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानको भ्रातृ संगठन नागरिक प्रतिरक्षा बल दमक नगर समितिको आयोजनामा नागरिक प्रतिरक्षा बलका मेची अञ्चल संयोजक दुरेन राईको नेतृत्वमा करिब १५० जनाको उपस्थितिमा “केपी ओली मुर्दावाद, पक्राउ पुर्जी खारेज गर, दुर्गा प्रसाईं जिन्दावाद, नागरिक बचाउ अभियान जिन्दावाद, नागरिक प्रतिरक्षा बल जिन्दावाद, हाम्रो आन्दोलन जारी छ” जस्ता नाराहरु लगाउँदै बिरोध र्याली निकालिएको हो । दमकको गणतन्त्र चोकमा आई नाराबाजी गरि पुनः गोर्खा डिपार्टमेन्ट पुगेर र्याली समापन भएको थियो । नागरिक प्रतिरक्षा बलले आज साँझ मसाल जुलुस निकाल्ने बुझिएको छ ।

त्यस्तै सर्लाहीको लालबन्दीमा पनि सयौ समर्थकहरुले प्रदर्शन गरिरहेका छन् । प्रसाई नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानले प्रसाईविरुद्धको पक्राउ पुर्जी फिर्ता लिन आग्रह गरेको छ ।

सरकारले तत्काल फिर्ता नलिए आन्दोलन गर्ने सो संगठनले चेतावनीसमेत दिएको छ । अभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाई , प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेमाथि कपोकल्पित र झुटो मुद्दा दायर गर्दै पक्राउ पुर्जी जारी गरी राज्यले दमनकारी नीति अपनाएको ठहर गरिएको छ । सो नीति सरकारले तत्काल फिर्ता नलिए आज देशैभर विरोध सभा, राँके जुलुस, बिरोध प्रदर्शन गर्ने र भोलिबाट देशैभर चक्काजाम , बिरोध सभा, धर्ना लगायतका कार्यक्रम अघि बढाउने विज्ञप्तिमार्फत अभियानले चेतावनी दिएको छ ।

विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । काठमाडौं जिल्ला अदालतले प्रसाईं, जीवन पाण्डे र प्रकाशचन्द्र दाहाललाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।
उनीहरुमाथि विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघन गरेको आरोपमा प्रहरीले पक्राउका लागि अनुमति माग गरेअनुसार न्यायाधीश महेन्द्र काफ्लेको इजलासले पुर्जी जारी गरेको जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले बताए । प्रसाईलाई अहिलेसम्म प्रहरीले पक्राउ गरिसकेको छैन । उनी भक्तपुरस्थित आफ्नै निवासमा छन् । प्रधानमन्त्री केपी ओलीले आफ्नो आन्दोलन सिध्याउन सो षडयन्त्र गरेको उनले आरोप लगाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्