झापा, असोज ३ । भारतको सिक्किमका पुरन राईले सातौँ उर्लाबारी रन–२०८१ को उपाधि जितेका छन् । १० किलोमिटर दूरी ३१ मिनेट ५४ सेकेन्डमा पार गर्दै राईले ३० हजार रुपियाँसहित पदक र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा बैतडीका नरेन्द्रसिंह राउत ३२ मिनेट ५ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भए । काठमाडौँका नागेश्वर अहिर ३२ मिनेट ३७ सेकेन्डमा निर्धारित दूरी पार गर्दै तेस्रो भए ।

दोस्रो र तेस्रोलाई क्रमशः २० हजार र १० हजार रुपियाँसहित प्रमाणपत्र र पदक प्रदान गरियो । यस्तै महिला खुलातर्फको उपाधि नेपाली सेनाकी पूर्णलक्ष्मी न्यौपानेले ४१ मिनेट ५ सेकेन्डमा १० किलोमिटर दूरी पार गर्दै ३० हजार रुपियाँ, पदक र प्रमाणपत्र प्राप्त गरिन् ।

नेपाल प्रहरीकी सुमित्राकुमारी चौधरी दोस्रो र सुनकला राई तेस्रो भए । चौधरीले ४१ मिनेट ३८ सेकेन्ड र राईले ४५ मिनेट ६ सेकेन्डमा निर्धारित दुरी पार गरिन् । भेट्रान्सतर्फ दोलखाका नवराज कार्की प्रथम भए । १५ वर्षमुनिको पुरुष खुलातर्फ एडिड एन्जल खड्काले १४ मिनेट २९ सेकेन्डमा १० किलोमिटर दूरी पार गर्दै प्रथम भए ।

त्यस्तै विमल थापा १४ मिनेट ५९ सेकेन्डमा दूरी पार गर्दै दोस्रो र १५ मिनेट १० सेकेन्डमा दूरी पार गर्दै सम्पादन राई तेस्रो भए । १५ वर्षमुनिको खुला महिलामा जुहि राई प्रथम, विनीता राई दोस्रो र रश्मि राई तेस्रो भएका हुन् ।

सबै इभेन्टका विजयीलाई उर्लाबारी नगरपालिकाका प्रमुख गङ्गाप्रसाद खरेल र उपप्रमुख मिना खतिवडाले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्