झापा , असोज ३ । गुलाफचन राजवंशी नाम भएपनि उनी खटखटे चियावाला भनेर प्रचलित थिए ।

सिसाको गिलासमा चिनी , चियारंग र दुधलाई खटखट गर्दै फिटेर चिया दिने कलाकै कारण उनी खटखटे भनेर चिनिए । टाउकोमा कपाल नभएकाले कतिपयले ठकठकिया(चिन्डे) भनेर पनि बोलाउने गर्थे । २०३० सालअगाडि नै बिर्तामोड–भद्रपुर सडक बन्नुभन्दा पहिला साविक अनारमनी ७ हाल बिर्तामोड ३ सैनिकमोडको चोकैमा राजवंशीले चिया पसल थापेका थिए । त्यतिबेला सैनिकबजार जाने ठाडो बाटो बनिसकेको थिएन । बिर्तामोड– भद्रपुर सडकको टर्निङको दक्षिणपट्टि सतानु राजवंशीको जग्गाछेउमा रहेको खाल्डो पुरेर उनले त्यस क्षेत्रमै पहिलो पटक चिया नास्ताको पसल संचालन गरे ।

‘पसल खोलिएको सैनिकमोडमा बुवाले चिया बेच्नु हुन्थ्यो ’ छोरा राजेश राजवंशीले संझदै भने,‘ हटिया हटियामा पनि चिया बेचेको मलाई संझना छ ।’ राजेशका अनुसार उनका बुवाले काँधमा भार बोकेर हटिया हटियामा गएर चिया बेच्ने गर्दथे । पचास पैसा कप चिया बेचेको कुरा आफ्ना स्वर्गीय बुवाले बताएको कुरा राजेशलाई स्मरण छ । राजेश पनि बुवाको बिडो थाम्दै त्यही ठाउँमा चिया पसल नै संचालन गरिरहेका छन् । उनका छोरा सुरेशले पनि बाबु बाजेकै पेशा अँगालेका छन् ।

दिवंगत राजवंशीले चिया बेचेरै आफ्ना पाँच छोरी र एक छोरालाई हुर्काए । छोरासहित तीन जना छोरीले सैनिकमोडमै पसल गरिरहेका छन् । तीन पुस्तादेखि चिया बेचेरै उनीहरुले गुजारा मात्र नभएर राम्रो आम्दानी पनि गरिरहेका छन् ।

बिर्तामोड क्षेत्रमै पुरानो चिया पसलेको रुपमा राजवंशीलाई आफूले चिनेको बाह्रदशी घर भएका एकीकृत समाजवादीका जिल्ला अध्यक्ष वेदराज रेग्मी बताउँछन् । बिर्तामोड आउँदा चिया खाने ठाउँ सैनिकमोड नै हुने गरेको उनी विगत संझिन्छन् । आफू जन्मिनुभन्दा अगाडिदेखि नै सैनिकमोडमा राजवंशीको चिया पसल रहेको कुरा सुनेको बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीले बताए । सानो झुपडीमा राजवंशीले चिया बेच्दै गरेको आफूलाई बाल्यकालको संझना रहेको उनी बताउँछन् ।

भारतका डली चायवाला, नामले चर्चित भएर सेलिब्रेटी बने ।परिश्रमभन्दा पनि भाग्यले उनलाई साथ दियो । अरु चिया बेच्नेहरुले अथक परिश्रम गरेपनि नाम र दाम कमाउन नसकेको वडाध्यक्ष बुढाथोकीको बुझाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्