झापा, असोज ४ । पक्राउ पुर्जीको विरोधमा दुर्गा प्रसाईका समर्थकले हिजो साँझ विभिन्न ठाउँमा राँके जुलुस निकालेका छन् ।

उनीहरुले कोशी प्रदेशमा मोरङको उर्लावारी र उदयपुरको त्रियुगा नगरपालिकामा राँके जुलुस निकालेका हुन् । उर्लाबारी– ७ स्थित पशुपति मार्गमा नागरिक बचाउ महाअभियानका नगर संयोजक मेदनी शिवाकोटीको नेतृत्वमा १५–२० जनाको समूहले राँके जुलुस निकालेको थियो । राँके जुलुसलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका ११ त्याम्पु चोकबाट प्रसाईं समर्थकहरुले राँके जुलुस निकालेका थिए । अभियानका जिल्ला अध्यक्ष निशान राईको नेतृत्वमा अन्दाजी ३० जनाले राँके जुलुस निकालेको र जुलुस त्रियुगा– १२ स्थित शिव मन्दिरमा कोणसभामा परिणत भएको थियो ।

प्रसाई नेतृत्वको नागरिक बचाउ महाअभियानले प्रसाईविरुद्धको पक्राउ पुर्जी फिर्ता लिन आग्रह गरेको छ ।
सरकारले फिर्ता नलिए आन्दोलन गर्ने सो संगठनले चेतावनीसमेत दिएको छ । सरकारले तत्काल फिर्ता नलिए आज चक्काजाम गर्ने अभियानले चेतावनी दिएको थियो । तर, चक्काजामको कुनै असर परेको छैन ।

विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । काठमाडौं जिल्ला अदालतले प्रसाईं, जीवन पाण्डे र प्रकाशचन्द्र दाहाललाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्