मेचीनगर,असोज ४ । सशस्त्र प्रहरीले एक लाख बढीको पटाका बरामद गरी नष्ट गरेको छ ।

मेचीनगर ६ काँकरभिट्टाबाट बरामद गरी एकलाख अठार हजार आठ सय ६४ रुपैयाँ मूल्य बराबरको पटाका नष्ट गरेको हो । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाले स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीलगायतको रोहबरमा पटाका नष्ट गरिएको जनाएको छ ।

भारतबाट काँकरभिट्टा नाका हुँदै अवैध रुपमा भित्र्याइएको प्रतिबन्धित पटाका नियन्त्रणमा लिएर शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टा परिसरभित्र खाल्डोमा हालेर नष्ट पारिएको गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक लोकनाथ उप्रेतीले जानकारी दिए ।

भारतीय नम्बर प्लेटको डब्लु ७४ एपी २३२७ नम्बरको मारुती कारमा ती पटाका ल्याइएको थियो । भारी मात्रामा प्रतिबन्धित वस्तु हालेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा प्रहरी परिचालन गरिएको थियो । प्रहरीलाई देख्नासाथ कार छाडेर चालक फरार भएपछि शंका लागेर खोली हेर्दा भारी मात्रामा प्रहरीले पटाका बरामद गरेको थियो । पटाका नष्ट गरेर सवारीसाधनलाई आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्