झापा, असोज ४ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिहीबारदेखि चाडपर्वलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । कम्पनीले अति आवश्यकीय खाद्यवस्तुमा उपभोक्तालाई राहत दिने उद्देश्यसहित विशेष छुट गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । कम्पनीले बिहीबारबाट सञ्चालनमा ल्याएको सुपथ मूल्य पसल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले उद्घाटन गरे । विगतका वर्षभन्दा सात दिनअगाडि सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलबाट खाद्य कम्पनीले ५० हजार क्विन्टल खाद्यवस्तु बिक्री गर्ने लक्ष्य राखेको छ ।
कम्पनीले दाल, चामल, गेडागुडी कर्णालीका रैथाने उत्पादन, तेल, घिउसहित ५० हजार क्विन्टल खाद्यवस्तु बिक्री गरेको जनाएको छ । कम्पनीका अनुसार विभिन्न प्रकारका चामल र दालमा प्रतिकेजी पाँच रुपियाँ छुटको व्यवस्था गरेको छ । यस्तै विभिन्न प्रकारका तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा प्रतिकेजी सात रुपियाँ तथा कर्णालीका विभिन्न गेडागुडी, फापर दाना, चिनो, कागुनोलगायतमा पनि प्रतिकेजी सात रुपियाँ छुटको व्यवस्था गरेको छ ।

काठमाडौँ उपत्यकाका चार स्थान सहित ४२ जिल्लाका ६३ स्थानमा कम्पनीका बिक्री कक्ष राखिएका छन् । सहुलियत मूल्य पसल माघ २ सम्म सञ्चालन हुने छन् । यसका लागि सरकारले तीन करोड बजेट विनियोजन गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले नेपालीका प्रमुख चाड दसैँतिहार, छठसम्म दैनिक उपभोग्य वस्तुको माग अत्यधिक हुने गरेको तर बजार मूल्य अस्वाभाविक रूपमा बढ्न सक्ने अवस्था रहेकाले सुपथ मूल्य पसल सञ्चालन गरेको जानकारी दिए । उनका अनुसार कम्पनीले बिक्री केन्द्रसम्म पहुँच नभएका उपभोक्ताका लागि अनलाइन अर्डरमार्फत होम डेलिभरीको व्यवस्था पनि गरेको छ ।
यसैबिच दसैँमा सरकारले १० रुपियाँ छुटसहित एक हजार आठ सय खसीबोका र च्याङ्ग्रा बिक्रीवितरण गर्ने तयारी गरेको छ । कम्पनीले दसैँका लागि जिउँदो खसीबोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपियाँ छुट दिने निर्णय गरेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्