बिर्तामोड, असोज ४ ।नेपाल शिक्षक संघ बिर्तामोडले नगरस्तरीय आधारभूत तह हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ।

संविधान दिवस २०८१ को अवसरमा सो कार्यक्रम आयोजना गरिएको हो । हाजिरीजवाफ प्रतियोगितामा देवी माध्यमिक विद्यालय बिर्तामोड प्रथम, लक्ष्मी आधारभूत विद्यालय बिर्तामोड– ७ विरान द्वितीय, महेन्द्र रत्न माध्यमिक विद्यालय बिर्तामोड –३ तृतीय, मोहनमाया माध्यमिक विद्यालय बिर्तामोड –२ ले सान्त्वना स्थान हासिल गरेका छन् । प्रतियोगितामा प्रथम, द्वितीय ,तृतीय र सान्त्वना हुने विद्यार्थीहरूलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।

नगरपालिकामा कक्षा ६– ८ सम्म रहेका १४ वटा सामुदायिक विद्यालयमध्ये १३ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका थिए । पञ्चरत्न माध्यमिक विद्यालयले भने सहभागिता जनाउन सकेन । उत्प्रेरणा जगाउन सहभागी सम्पूर्ण विद्यालयका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो।

नेपाल शिक्षक संघ बिर्तामोडका नगर अध्यक्ष जयकुमार प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शिक्षक संघ कोशी प्रदेशका अध्यक्ष तेजप्रसाद चौलागाईंको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौलागाईंले संविधानले व्यवस्था गरेको आधारभूत हक अधिकारका निम्ति कानुन निर्माण गरी कार्यान्वयन गरिनुपर्ने बताए । उनले विद्यालयहरूमा थुप्रै प्रकारका समस्याहरूलाई एकमुष्ट हल गर्न संघीय शिक्षा ऐन तत्काल जारी गरी श्रमजीवीहरूको समस्या समाधान गर्दै गुणस्तरीय सार्वजनिक शिक्षाको निम्ति काम गर्नु पर्ने जरुरी रहेको औल्याए । कार्यक्रमका अध्यक्ष प्रसाईले आधारभूत तहका विद्यार्थीहरूमा यस्ता प्रकारका कार्यक्रमहरु ओझेलमा पर्ने गरेकोले नेपाल शिक्षक संघले आधारभूत तह लक्षित कार्यक्रम सञ्चालन गरेको बताए । उनले आउँदा दिनहरूमा समेत यस्ता रचनात्मक र सिर्जनात्मक कार्यक्रमहरुलाई निरन्तरता दिने जानकारी दिए ।

कार्यक्रममा नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य चन्द्रप्रसाद प्रसाई , नेपाल शिक्षक संघ जिल्ला उपाध्यक्ष धनकुमारी खरेल,नेपाल शिक्षक महासंघ बिर्तामोडका अध्यक्ष युवराज कट्टेल, महेन्द्र रत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेल, मोहनमाया माध्यमिक विद्यालय बिर्तामोडका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठ, देवकोटा आधारभूत विद्यालयका प्रधानाध्यापक सुवास राजवंशीलगायतको आतिथ्यता रहेको थियो ।

नेपाल शिक्षक संघ बिर्तामोडकी उपाध्यक्ष सरस्वती दाहालले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि चौलागाईं, महेन्द्र रत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेल, नेपाल शिक्षक महासंघ बिर्तामोड अध्यक्ष युवराज कट्टेललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन नेपाल शिक्षक संघ बिर्तामोडका सचिव युवराज ढकालले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्