झापा, असोज ४ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेले जबजको सिद्धान्तलाई छोड्न नहुने बताएकी छन् ।

जबजको सिद्धान्त अंगिकार गर्दा नै एमाले बृहत भएकाले यसलाई निरन्तरता दिनुपर्ने उनको भनाई छ । पूर्व राष्ट्रपतिका पति स्वर्गीय मदन भण्डारीले जवजको सिद्धान्तलाई प्रतिपादन गरेका थिए । मदन भण्डारी फाउन्डेसन कोशी प्रदेश समितिद्वारा आयोजित प्रदेश स्तरीय कार्यशाला गोष्ठीको विराटनगरमा उद्घाटन गर्दै उनले नेपालको कम्युनिस्ट आन्दोलनमा जबजको क्रान्तिलाई मदन भण्डारीले अगाडि बढाएको स्मरण गर्दै यो बामपंथी आन्दोलनको सफलता भएको बताइन् ।

‘नेकपा एमाले सीमित संगठनमा मात्र थियो , कसरी जाने भन्ने थियो तर, यो जबजको सिद्धान्तलाई लिएर जनतामा गएपछि पार्टी बृहत भयो’ उनले भनिन्,‘राजनीतिक ब्यबस्था नै बदलियो र सरकार पनि बनायो ,राष्ट्रपतिसमेत बनाउन सफल रहयो ।’ मदन भण्डारी फाउन्डेसनले जबजको मार्गदर्शनको सिद्धान्त अंगिकार गरी मदन भण्डारीलाई आदर्श मानेर सबैलाई समेटेर अगाडि बढेको र यसलाई सबैले निरन्तरता दिनुपर्ने उनको जोड थियो ।

मदन भण्डारी फाउन्डेसन स्थापना गरेपछि अब कसरी थप कार्यहरु गरेर अगाडि बढाउने विषयमा छलफल गर्नुपर्ने उनले बताइन् । अहिलेको अवस्थामा फाउन्डेसनको महत्व र आबश्यकता अझ धेरै बढेको भन्दै उनले जनतासंग घनिष्ठ सम्बन्ध राखेर अगाडि बढ्नुपर्नेमा जोड दिइन् । नयाँ प्रविधिले समाज ध्रुवीकृत भएको र अहिले नयाँ पुस्ता एकातिर र पुरानो पुस्ता अर्कातिर भएकाले यसलाई सृजनात्मक ढंगबाट वैचारिक रुपमा अहिलेबाट नै समाधान गर्न जरुरी रहेको उनले औल्याइन् ।

मदन भण्डारी फाउन्डेसनका कोशी प्रदेश अध्यक्ष गोपाल गुरागाईको अध्यक्षता तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, कोशी प्रदेशका उप– सभामुख सिर्जना दनुवार,कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा कोशी प्रदेशका इन्चार्ज शेरधन राई, कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई,राज्यमन्त्री सिर्जना राई, नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, नेकपा एमाले कोशी प्रदेशका उपाध्यक्ष टिकाराम चेम्जोङ,नेपाल खेलकुद महासंघ तथा कोशी प्रदेश खेलकुद विकासका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम), नेकपा एमालेका मोरङ जिल्ला अध्यक्ष बाबुराम कार्की, नगर र वडाका जनप्रतिनिधिहरु, कोशी प्रदेशका विभिन्न जिल्लाका मदन भण्डारी फाउन्डेसन अध्यक्षहरु लगायत करिब ५ सय जनाको उपस्थिति रहेको थियो । प्रदेश स्तरीय कार्यशाला गोष्ठी शनिवारसम्म चल्ने बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्