झापा , असोज ५ । इलाका प्रहरी कार्यालय बिर्तामोडले नगरका सीसी क्यामेराले काम नगर्दा शान्ति सुरक्षा कायम गर्न समस्या भएको भन्दै बिग्रेकाहरुको मर्मत संभार र नयाँ जडानका लागि नगरपालिकासंग बजेट माग गरेको छ ।

बिर्तामोड प्रहरीले बिग्रिएका ३७ वटा क्यामेराको मर्मत संभार र प्रारम्भिक चरणमा ३३ वटा नयाँ जडानका लागि नगरपालिकासंग बजेट माग गरेको हो । प्रहरी कार्यालयले आवश्यक बजेट उपलव्ध गराइदिन नगरपालिकालाई हिजो पत्र पठाएको छ ।

‘ बिग्रेका ३७ वटा क्यामेरालाई मर्मत गर्नुपर्ने देखिएको छ ’ बिर्तामोड प्रहरीका डीएसपी प्रकाश विष्टले भने,‘ पुरानाको मर्मत संभारसंगै केही ठाउँहरुमा थप क्यामेरा पनि चाहिएको छ । ’ उनले प्रारम्भिक चरणमा ३३ वटा नयाँ क्यामेरा माग गरिएको जानकारी दिए । बिर्तामोडका धेरै सीसी क्यामेराले काम गर्न छोडेको निकै भइसक्यो । अधिकांशको ध्यान नयाँ जडानमा मात्र रहेको र मर्मत संभारमा चासो नदिँदा समस्या आएको उनको भनाई छ ।

बिर्तामोडमा २०७४ सालदेखि सीसी क्यामेरा जडान गर्न थालिएको हो । इलाका प्रहरी कार्यालय बिर्तामोडअन्तर्गत ८६ वटा सीसी क्यामेरा जडान गरिएको थियो ।त्यसमध्ये ४९ वटा मात्र चालु छन् । अपराध न्यूनीकरणका लागि भन्दै प्रहरी, स्थानीय तथा विभिन्न संघ–संस्थाको पहलमा बिर्तामोडमा सीसी क्यामेरा जडान गरिएको थियो । एसियन हाइवेका कारण धेरैवटा क्यामेरा हटाउनु पर्ने भएको छ भने पानी , चट्याङ, धुलो, मुसा , कमिलाले सीसी क्यामेराहरुले काम गर्न छोडेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्