झापा,असोज ५ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई सहजीकरण गरिदिने भन्दै बिचौलिया श्रम प्रतिनिधिले मनलाग्दी पैसा लिने गरेको गुनासो आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पछिल्ला दिनमा वैदेशिक रोजगारीमा जानेलाई सहजीकरण गरिदिने नाममा विभिन्न व्यक्तिले सेवाग्राहीसँग पाइलैपिच्छे रकम लिएको गुनासो आउने क्रम बढेकोप्रति विभागको ध्यानाकर्षण भएको जनाएको हो ।

विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विभाग तथा मातहत कार्यालयमा कार्य सहजीकरणको नाममा तोकिएको शुल्कभन्दा बढी पैसा लिने गरेको गुनासो आएको हुँदा सेवालाई रसिदभन्दा बढी पैसा नतिर्न आग्रह गरे ।

उनका अनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहजीकरण गर्ने श्रम प्रतिनिधि, बिचौलिया र श्रम कार्यालयवरपर रहेका साइवरहरूले श्रमिकसँग श्रम स्वीकृतिबापत वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष र म्यादी बिमाबापत बुझाउनुपर्ने रकमभन्दा दोब्बरभन्दा बढी रकम लिने गरेको पाइएको छ । विभागका महानिर्देशक खत्रीले बिचौलिया र साइबर सञ्चालकलाई विभागका टोलीले निगरानी बढाइरहेकाले ठगीको प्रमाण भेटिनेबित्तिकै कानुन अनुसार कारबाही गरिने चेतावनी दिए । उनले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई चाहिने आवश्यक सेवा सहज रूपमा कार्यालयबाट लिन सकिने भएकाले अनावश्यक रूपमा बिचौलियासम्म गएर ठगीमा नपर्न सचेत गराए । उनले भने, “वैदेशिक रोजगारीमा जाने क्रममा कुनै विषयमा केही दुविधा भएमा विभागको कार्यालयको सहायता कक्षमा गएर सबै प्रकारका सेवाबारेमा बुझ्न सकिन्छ, विदेश जाँदा केमा के कति खर्च लाग्छ भन्ने कुरा पनि सेवाग्राही आफैँले बुझ्नु पर्छ ।” यहाँ त सरकार कर्मचारीभन्दा बिचौलियाको बढी विश्वास मान्ने र उनीहरूकै लहैलहैमा लागेर बिनाप्रमाण धेरै पैसा बुझाउने र पछि ठगिए भनेर आउने सेवाग्राही बढी रहेको उनको भनाइ छ । उनका अनुसार सेवाग्राहीलाई कार्यालयसम्म आउन सम्भव नभए पनि वैदेशिक रोजगारीमा जाने व्यक्तिले अनलाइनबाट पनि सेवा शुल्कबारे बुझ्न सकिन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्