उर्लाबारी, असोज ५ । चरित्रहीन आचरणको आरोप लागेका एकजना क्याम्पस प्रमुखलाई संचालक समितिको बैठकले उन्मुक्ति दिएको छ ।
उर्लाबारीका मेयर गंगाप्रसाद खरेलसहित क्याम्पस संचालक समितिका केही सदस्यको असहमतिका बीच उर्लाबारी बहुमुखी क्याम्पसका प्रमुख खेमराज कार्कीले ‘क्लिन चिट’ पाएका हुन् । क्याम्पस प्रमुख कार्कीले चलाएको मोटरसाइकलबाट लडेर एकजना महिलाको मृत्यु भएपछि थप विषय चर्चामा आएको थियो । कार्कीले ती महिलासंग अनुचित सम्बन्ध राख्दै आएको र लापरबाही तरिकाले बाइक हाँकेकोले उनको मृत्यु हुन पुगेको भन्दै स्थानीयले आक्रोश व्यक्त गर्दै आएका छन् ।
यसै विषयलाई लिएर कार्कीलाई पदबाट हटाउने कि राख्ने भन्ने विषयमा शुक्रबार क्याम्पस संचालक समितिको बैठक बसेको थियो । बैठकमा संचालक समितिका अधिकांश सदस्यले क्याम्पस प्रमुख कार्कीको बचाउ गरेका थिए । यद्यपि क्याम्पसका पदेन सदस्यसमेत रहेका मेयर खरेलले क्याम्पसको गरिमालाई उँचो राख्न पनि कार्कीलाई पदमुक्त गर्नुपर्ने अडान प्रस्तुत गरेपछि शुक्रबारको बैठक अनिर्णित बनेको थियो ।
शनिबार विहानै पुनः संचालक समितिको वैठक राखी कार्कीलाई क्याम्पस प्रमुख पदमा निरन्तरता दिने निर्णय भएको संचालक समिति सदस्य मुक्तिप्रकाश न्यौपानेले बताए । न्यौपानेका अनुसार सवारी दुर्घटनाबाट सफाइ पाइसकेपछि चौक र चिया पसलमा भएका हल्लालाई आधार बनाउनुको अर्थ नहुने भन्दै क्याम्पस प्रमुखलाई हटाउनुपर्ने कुनै कारण नभएको जिकिर गरे । समितिको बहुमत सदस्यले कार्कीलाई पदमा निरन्तरता दिने बुझेपछि मेयर खरेलसहित पाँच जना सदस्यले शनिबार बोलाइएको वैठक बहिष्कार गरेका थिए । उर्लाबारी क्याम्पस संचालक समितिमा १९ जना सदस्य रहेका छन् । जसमा मेयर खरेलसहित समितिका उपाध्यक्ष विशाल आङदेम्बे, सदस्यहरु गजेन्द्र दंगाल, मिलन दाहल, दिलु लिङदेन लावती र रमेश श्रेष्ठ ‘गुडविल’ले बैठक बहिष्कार गरेको बुझिएको छ ।
उर्लाबारी ४ घर भएका कार्कीले स्थानीय एक एकल महिलालाई मोटरसाइकलमा राखी ‘घुमाउन’ लगेका थिए । घरतर्फ फर्किने क्रममा कार्कीले हाँकेको मोटरसाइकल मोरङको कानेपोखरीमा दुर्घटनामा हुँदा त्यसमा सवार महिला गम्भीर घाइते बनेकी थिइन् । घाइते महिलाको तीन दिनपछि गत साउन ३२ गते उपचारका क्रममा मृत्यु भएको थियो । क्याम्पस प्रमुख कार्कीले महिलालाई ‘गलत नियत’राखी घुमाउन लगेको तथा घटनाको तीन दिनसम्म बेखबर बनाइएको खुलासा भएको थियो । इटहरीबाट फर्किने क्रममा बाइकको पछाडी बसेकी महिला कानेपोखरीमा लडेकी थिइन् । उनलाई उपचारार्थ मंगलबारेस्थित मदन भण्डारी ट्रमा सेन्टर अस्पतालमा ल्याइएको थियो । मंगलबारेमा उपचार सम्भव नभएपछि अस्पतालले विराटनगरको न्युरो हस्पिटल लैजान सुझाएको थियो । तर, कार्कीले आफूखुसी विराट नर्सिङ होम पुर्याएपछि उपचारमा भएृको ‘ढिलासुस्ती’का कारण तीन दिनपछि महिलाको मृत्यु भएको पीडित पक्षको भनाई छ ।
सवारी दुर्घटनाको मुद्धाअन्तर्गत केहि समय इलाका प्रहरी कार्यालय पथरीको थुनामा रहेका कार्कीले थुनामुक्त भएपछि क्याम्पस प्रमुख पदमा रहिरहन दौडधुप गरेका थिए । स्रोतका अनुसार क्याम्पस संचालक समिति अध्यक्ष पुष्पलाल ढकालले उल्लेखित घटनालाई दुर्घटनाकै रुपमा लिनुपर्ने भन्दै कार्कीको बचाउ गर्दै आएका छन् । शैक्षिक थलोको नेतृत्वमा रहने व्यक्ति उच्च नैतिक चरित्रवान हुनुपर्ने भन्दै खेमराज कार्कीलाई क्याम्पस प्रमुखको जिम्मेवारीबाट हटाउनुपर्नेमा मेयर खरेल अडिग रहेका छन् ।
यसैबीच नेकपा एमालेका संगठित सदस्य रहेका खेमराज कार्कीलाई एमाले उर्लाबारीले पार्टी सदस्यताबाट हटाएको विज्ञप्तिमार्फत जनाएको छ ।