झापा , असोज ५ । करिव दुई साताअघि कन्काईको दोमुखामा बेपत्ता भएका किशोर नभेटिरहेका बेला कन्काई नदीमै डुबेर अर्का एक व्यक्तिको ज्यान गएको छ ।
कन्काईमा लगातार डुबेर ज्यान जानेक्रम बढ्दो छ । यसक्रममा शनिवार थप एकजनाको मृत्यु भएको हो । शिवसताक्षी नगरपालिका १० स्थित टेक्रामा पानीमा डुबिरहेको अवस्थामा दिउँसो एउटा बेवारिसे शव फेला परेको हो । उतानो परेको , अनुहार पानीमा डुबेको करिव ४० वर्षको जस्तो देखिने पुरुषको शव माछा मार्नेहरुले देखेपछि प्रहरीलाई खबर गरेका गरेका थिए । घटनास्थलमा प्रहरी टोली पुगेर सर्जमिन मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमको लागि पठाइएको र अहिलेसम्म मृतकको पहिचान नखुलेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशिल थापा मगरले बताए ।
गत भदौ २४ गते शिवसताक्षी १० स्थित दोमुखामा रहेको कन्काईमा भद्रपुर नगरपालिका-५ बस्ने १७ वर्षीय फिरोज खान र बिर्तामोड नगरपालिका- २ बस्ने १८ वर्षीय उज्वल राई नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । सोही साँझ फिरोजको शव भेटिएको थियो भने उज्वलको शव अझै भेटिएको छैन । ती किशोरको अझै खोजी भइरहेको प्रहरी निरीक्षक मगरले बताए ।
कन्काई नदीमा डुबेर मृत्यु हुनेहरुको तथ्यांक डरलाग्दो छ । तीन वर्षको अवधिमा कन्काईमा डुबेर २५ जनाले ज्यान गुमाएका छन् । यो चालु आर्थिक वर्षमा झन् क्षति बढेको छ । साउनदेखि असोज ५ सम्म कन्काईमा डुबेर ५ जनाको मृत्यु भइसकेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार आर्थिक वर्ष २०७८- ०७९ मा ६ पुरुष र ३ महिला गरी ९ जना , ०७९-०८० मा ५ पुरुष ,१ महिला , १ बालक र १ बालिका गरी ९ जना र ०८०-०८१ मा २ पुरुष , १ महिला , ३ बालक र १ बालिका गरी ७ जनाको मृत्यु भएको हो । यसै आर्थिक वर्षमा २ बालक, २ महिला र १ पुरुष गरी ५ जनाको मृत्यु भएको हो ।
कनकाईमा मृत्यु हुनेहरुको तथ्यांकलाई हेर्दा वर्षेनि बढ्दै गएको देखिन्छ । गर्मीयाममा पौडी खेल्न जाँदा धेरै बालबालिकाहरुले ज्यान गुमाएका छन् । त्यस्तै ७० वर्षका माथिका व्यक्तिहरु मादक पदार्थ सेवन गरेर नहरमा चिप्लेर लड्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । त्यसैगरी नदीमै नुहाउन , लुगा धुन , गाईवस्तुलाई पानी खुवाउन जाँदा अप्रिय घटना हुने गरेको प्रहरी निरीक्षक मगरले बताए ।
कन्काई नदीमा हुने गरेको बढ्दो मानवीय क्षति रोक्न प्रहरीले सचेतना कार्यक्रम संचालन गरेको थियो । तर क्षति न्यूनीकरण हुनुको साटो अझ बढ्दै गएको छ ।