झापा,असोज ६ । धर्म प्रचार गर्न आएका क्रिश्चियन धर्मावलम्बीहरुलाई मोरङ जहदाका स्थानीयहरुले लखेटेका छन् ।
हिजो साँझ जहदा– ४ जहदा टोलस्थित सार्वजनिक माध्यमिक विद्यालयमा विराटनगरबाट धर्म प्रचारका लागि आएका क्रिश्चियन प्रचारकहरुसंग स्थानीयको विवाद भएको थियो । क्रिश्चियन धर्मावलम्बी गर्णलाल मुखियाको घरमा बिराटनगरबाट पाष्टर एकराज दाहाललगायत १० जना क्रिश्चियन धर्मावलम्बीहरु प्रार्थनाको लागि आएपछि हिन्दु धर्मावलम्बीका युवाहरुलगायत करिब सय जनाको संख्यामा भेला जम्मा भई बिरोध गरेका थिए ।
दुई पक्षको विवादकै क्रममा जहदा ४ का वडा अध्यक्ष शिबशंकर गामी बेहोस भएका छन् । उनको ब्लड प्रेसर बढेपछि स्थानीय मेडिकलमा सामान्य उपचारपश्चात् घर फर्काइएको छ । प्रहरी टोली गई दुबै पक्षबीच समन्वय गराई क्रिश्चियन धर्मावलम्बीहरुलाई सुरक्षित गन्तब्यतर्फ पठाएको जनाइएको छ ।