झापा, असोज ६ । वर्षायाम सकिनै लाग्दा इलामको मौसम खुल्न थालेको छ । आकासे वर्षा नभएको दुई÷चार दिन हुँदा इलामको अन्तुका लागि भने पर्यटकीय याम सुरु भएको छ । तराईको गर्मी उस्तै हुँदा अहिले अन्तुको चिसोमा रमाउनेहरू खचाखच हुन थालेका छन् ।
अझ भारतीय नागरिक अन्तु आएर निकै रमाउने गरेको यहाँका पर्यटन व्यवसायीको भनाइ छ । अहिले दैनिक तीन सयदेखि पाँच सय पर्यटकले अन्तुमा रात बिताउने गरेका छन् । मौसम खुलेपछि बिहानको सूर्योदय हेर्न रमाउनेको सङ्ख्या उस्तै हुने गरेको श्रीअन्तु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रुद्र घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष पनि दैनिक आउने पर्यटकको संख्या निकै बढेको छ । यहाँका होमस्टे, होटेल र कटेज बुकिङ हुन थालेका छन् । यस वर्ष फेसबुक, ट्विटर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालका कारण आउने पर्यटक यहाँ पुग्ने गरेका छन् ।”
अन्तुमा यो वर्ष भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, कलकत्ता, गुवाटी, आसामबाट ठुलो संख्यामा भारतीय आएका छन् । झापाको काँकडभिट्टा हुँदै नेपाल भित्रिएका पर्यटक कन्याम, अन्तु घुम्दै पाथीभरा देवीको दर्शन गरेर पशुपतिनगर हुँदै फर्कने गरेको अध्यक्ष घिमिरेले बताए । घिमिरेले भने, “सूर्योदय देखिने समय सुरु हुनै लागेको छ । चिया टिपाइको समय पनि बाँकी नै छ । तराईबाट आउने पर्यटकलाई चिया टिपाइ र सूर्योदयको दृश्यले आनन्द दिने गरेको छ । अन्तु पोखरीमा डुङ्गा सवार पनि अर्को आकर्षण भएको छ ।’’ त्यसो त चिया बारीबिचमा निर्माण भएका कटेज, यहाँ सञ्चालित राम्रै किसिमका होटेल र स्थानीय जनजीवनको रहनसहन बुझ्न चाहने पर्यटकलाई होमस्टेको बासले बढी तान्ने गरेको छ । सूर्योदयको दृश्यावलोकनका लागि सूर्योदय नगरपालिकाले टिकट लिने गरेको छ ।