झापा,असोज ६ । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि खेलाडीको दर्ता खुला गरिएको छ। नेपाल क्रिकेट संघ(क्यान) ले शनिबार विज्ञप्ति जारी गर्दै एनपीएलको अक्सनमा सहभागी हुन चाहने खेलाडीलाई नाम दर्ता गर्न आह्वान गरेको हो। एनपीएलको पहिलो संस्करणका लागि हुने अक्सनमा सहभागी हुन चाहने नेपाली खेलाडीका लागि खेलाडी दर्ता प्रक्रिया खुला गरिएको हो। खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा विभाजन गरिने भएकाले खेलाडीले कुनै पनि श्रेणीमा नाम दर्ता गराउन सक्ने क्यानले जनाएको छ।
खेलाडी दर्ता शुल्क एक हजार रुपैयाँ तोकिएको छ। खेलाडीले असोज १२ गतेसम्म नाम दर्ता गरिसक्नु पर्नेछ। क्यानका अनुसार एनपीएलको अक्सन दसैं अघि नै हुनेछ।
नेपाली खेलाडी अक्सनबाट छनोट गरेपछि विदेशी खेलाडी भने सहभागी टोलीले सिधै अनुबन्धन गर्न पाउने छन्। एनपीएलमा सहभागी आठ टोली र मार्की खेलाडी भने छनोट भइसकेका छन्। गोलाप्रथाबाट काठमाडौंमा करण केसी, पोखरामा कुशल भुर्तेल, विराटनगरमा सन्दीप लामिछाने, चितवनमा कुशल मल्ल, लुम्बिनीमा रोहित पौडेल, जनकपुरमा आसिफ शेख, कर्णालीमा सोमपाल कामी र सुदूरपश्चिममा दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी बनेका छन्। क्यानले एनपीएलको पहिलो संस्करण आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा सञ्चालन गर्दैछ।