झापा, असोज ६ । नेपाली कराते खेलाडी एरिका गुरुङ २० औं एसियाली सिनियर कराते च्याम्पियनसिपको फाइनलमा पराजित भएकी छन् ।
चीनको हाङचाउस्थित स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको प्रतियोगिताको महिला ६८ केजीमाथि तौलमा आइतबार भएको फाइनलमा भियतनामकी नाओन थी नुयेनसँग ६–० ले पराजित भएपछि एरिकाले रजत पदकमा चित्त बुझाएकी छन् ।
एसियाली सिनियर कराते च्याम्पियनसिपमा नेपालले जितेको पहिलो पदक हो । एक वर्षअघि १९ औं एसियाली खेलकुदको कराते अहिले भइरहेकै हलमा भएको थियो । जहाँ एरिकाले रजत जितेकी थिइन् ।
सेमिफाइनलमा एरिकाले थाइल्यान्डकी केवालिन सोङक्लिनलाई ८–० ले पाखा हराएर फाइनल यात्रा गरेकी हुन् । एरिकाले प्रिक्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल अरिएन्ने ब्रिटोलाई ४–० अंकले पराजित गर्दै क्वाटरफाइनलमा पुगिन् । त्यहाँ एरिकले प्रतिद्वन्द्वी काजकिस्तानकी सोफ्या बेरुल्टसेभालाई हराइन् ।
सोफ्या तिनै खेलाडी हुन्, जसले एरिकालाई १९ औं एसियाली खेलकुदको फाइनलमा ३–० ले पराजित गर्दै स्वर्ण जितेकी थिइन् ।एरिकाको यो पाचौं अन्तर्राष्ट्रिय सहभागिता हो । कुनै पनि प्रतियोगितामा एरिका पदकविहीन भइनन् ।
एरिकाले इन्डोनेसियाको जकार्तामा भएको १० औं विश्व सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण, १९ औं एसियाली खेलकुदमा रजत, अमेरिकाको टेक्ससमा भएको युएस ओपन कराते च्याम्पियनसिपमा स्वर्ण र रजत तथा भुटानको थिम्पूमा भएको आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् ।
सबै प्रतियोगिता करिब १ वर्षेको अवधिमा भएका हुन् । कुमितेकै अन्य स्पर्धामा प्रतिस्पर्धा गरेका सबै नेपाली खेलाडी प्रतियोगिताबाट बाहिरिएका छन् ।