झापा, असोज ७ । झापा भद्रपुर नगरपालिका–६ तेलिभिट्टा निवासी ३२ वर्षीया बबिता राजवंशीको भारतमा हत्या भएको छ।
उनको शव भारत पश्चिम बंगाल दार्जिलिङ जिल्ला खोरीबारी थानाअन्तर्गतको बिन्नागुरी ग्राम पञ्चायत हारिभिट्टा नजिकैको केरा बगानमा फेला परेको हो । उनको शव कुहिएको अवस्थामा खोरीबारी पुलिसले फेला पारेको थियो। अनुहार किराले खाइसकेकोले पहिचान समेत नखुलेको उनको शव केराको पत्ताले छोपिएको थियो।
केरा बगानमा शव गन्हाएपछि स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए। घटना असोज २ गतेको हो। घटनास्थल नेपाल–भारत सीमा नाका भद्रपुरदेखि करिब दुई किलोमिटर पूर्व उत्तर पर्छ। खोराबारी पुलिसले शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि उत्तरबंग मेडिकल कलेज पठाएका थिए।
शव पहिचान नखुलेको अवस्थामा घटना भएको ५ दिनपछि ती महिला भद्रपुरको भएको खुलेको हो । मृतक बबिता सागसब्जी बिक्री गर्थिन्।
बबिता भदौ ३० गते सीमावर्ती भारतीय बजार सागसब्जी लिन गएको उनका जेठाजु जितेन राजवंशीले बताए। बबिता केही दिनदेखि हराइरहेको अवस्थामा एक महिलाको शव बोर्डर पारी भारतमा फेला परेको खबर सुनेर उनका परिवारजनले तत्काल भारतीय प्रहरीसँग समन्वय गरेका थिए।
परिवारजनले उनले लगाएको कपडाका आधारमा शवको पहिचान गरेका थिए। ‘बबितालाई हत्या गरी केरा बगान लगी शव लुकाएर राखेको हुनुपर्छ,’ उनका जेठाजु जितेनले भने। घटना शंकास्पद भएकाले खोरीबारी पुलिस थानामा गएर चार जनाको नाममा किटानी जाहेरी दिएको उनको भनाइ छ।
चारै जना भारतीय नागरिक हुन् । प्रतिमा बानिक, बालचन्द्र बानिक, दधिराम बर्मन र सहदेव बानिक रहेको उनले बताए। उनीहरूको बबितासँग आर्थिक लेनदेन थियो। नेपाल प्रहरीसँग समन्वय गरी बबिताको शव आज दिउँसो साढे ३ बजे घर ल्याएर दाहसंस्कार गरिएको उनको भनाइ छ।