झापा , असोज ८ । झापाको बिर्तामोड-६ कुमारी चौकस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
गएराति ८ बजे चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र १-०१-०१३ प २८०९ नम्बरको मोटरसाइकलले पैदलयात्री बिर्तामोड- ६ बुट्टाबारी बस्ने अन्दाजी ६२ वर्षीय यामबहादुर लिम्बुलाई ठक्कर दिएको थियो । टाउको र खुट्टामा चोट लागेका ती वृद्धको बीएण्डसी अस्पतालमा उपचार भइरहेकोमा आज बिहान २ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल र चालक बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ बस्ने ३२ वर्षीय बिकास लिम्बूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।