झापा , असोज ९ । आगजनीमा संलग्न दुर्गा प्रसाईका थप ७ जना समर्थकलाई प्रहरीले पक्राउ गरेको छ ।
कनकाईको लक्ष्मीपुर क्षेत्रबाट गएराति उनीहरुलाई बिर्तामोड प्रहरीले पक्राउ गरेको हो । असोज ६ गते बिरिङ पुल र बुट्टावारीमा दुईवटा भारतीय ट्रकमा भएको आगजनीमा संलग्न भएको आशंकामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । स्रोतका अनुसार पक्राउ पर्नेहरुमा हल्दिवारीका विवश लिम्बू , विरबहादुर गुरुङ,खेमराज दाहाल, बिर्तामोडका उदय लिम्बू , बुद्धशान्तिका बलिहाङ लिम्बू , अर्जुनधाराका रुद्र भुजेल र मेचीनगरका राजेश महत रहेका छन् ।
पक्राउ पर्नेहरुका बारेमा भेरिफाई गर्ने कार्य भइरहेको डीएसपी विष्टले जानकारी दिए । यसअघि प्रहरीले राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानको भ्रातृ संस्था पीडीएफका झापा संयोजक ४० वर्षीय भिम तुम्बापो लिम्बू र राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानका झापा सहसचिव ३३ वर्षीय सुरेश चौधरीलाई पक्राउ गरेको थियो ।
उनीहरुमाथि आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगको मुद्धा दर्ता भएको छ । दुवैमाथि आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको तथा अन्य फरार प्रतिवादीहरुको हकमा तदारुकताकासाथ खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी कृष्णकुमार चन्दले बताए ।
दुर्गा प्रसाईका समर्थकहरुले असोज ६ गते राति दुईवटा भारतीय ट्रकमा आगजनी गर्नुका साथै ट्रक चालकलाई समेत ज्यान मार्ने प्रयास गरेका थिए ।