झापा , असोज ९ । विद्युतीय अपराधसम्बन्धी कसुरमा पक्राउ परेका दुर्गा प्रसाईँलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।

उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । हिजो जिल्ला सरकारी वकिल कार्यालयमा उनको बयान लिइएको छ । क्यान्सर, मुटु र उच्च रक्तचापको बिरामी भएकाले उनलाई हिरासतमा राख्न नमिल्ने उनका कानुन व्यवसायी सुरेन्द्र भण्डारीले बताए । उनले भने, ‘अस्पतालले डिस्चार्ज नगरेपछि प्रहरीले जबरजस्ती उहाँलाई सिंहदरबार वृत्तको हिरासतमा राखेको छ ।’ प्रसाईँले हिरासतमा अनशन बस्ने घोषणा गरेका छन् । विद्युतीय कारोबार ऐन–२०६३ अनुसार आरोप पुष्टि भएमा ५ वर्षसम्म कैद सजाय र १ लाखसम्म जरिवाना हुने व्यवस्था छ ।

बीएण्डसी हस्पिटलका संचालक प्रसाईँमाथि प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ । असोज ६ मा प्रसाईँलाई प्रहरीले भक्तपुरको थिमी स्थित उनको घरबाट पक्राउ गरेको हो । प्रसाईँसँगै बागलुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएको छ । उनीहरू फरार छन् ।

जीवन पाण्डे युट्युब च्यानल ‘देश दुनियाँ खबर’का सञ्चालक हुन्। सो युट्युबमा कार्यरत प्रकाशचन्द्र दाहालले प्रसाईँको अन्तर्वार्ता लिएर साइबर कानुन आकर्षित हुनेगरी प्रसारण गरेको आरोप छ ।
प्रसाईँविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य बिर्तामोड १० की ज्वाला संग्रौलाले आफ्नो ‘चरित्रहत्या गरेको’ भन्दै जाहेरी दिएकी छन् ।

अर्का एकजना पुरुषले पनि उनीविरुद्ध जाहेरी दिएको साइबर ब्युरोका एसपी भागेन्द्रपुरुष ढकालले बताए । उनले भने, ‘दुई जनाको जाहेरी दर्ता भएको छ, त्यसमाथि हामी अनुसन्धान गर्दै छौँ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्