झापा, असोज १० । आपसी विवादका कारण आदिवासी जनजाति महासंघ झापा धरासायी बन्दै गएको छ ।

जिल्ला समन्वय परिषदमा रहेका पदाधिकारीहरुबीचको कलहकै कारण महासंघले विगत दुई वर्षदेखि खासै गतिविधि गर्न सकिरहेको छैन । महासंघका अध्यक्ष पाण्डवलाल चौधरीसंगको आपसी मनमुटावका कारण पदाधिकारीहरुबीच बोलचालसमेत बन्द भएको छ । चौधरीलाई अन्य पदाधिकारीहरुले बैठकमा बोलाउन छाडेका छन् । उनलाई अध्यक्षबाट हटाएको भन्दै उपाध्यक्ष केवलराम राईले कार्यवाहक अध्यक्ष भएर चलाइरहेका छन् भने चौधरीले विधानसम्मत आफूलाई हटाउन नमिल्ने दावी गर्दै आएका छन् ।

दुई वर्षअघि बिर्तामोड उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्सवदेखि महासंघका पदाधिकारीहरुबीच मनमुटाव शुरु भएको एक पदाधिकारीले बताए । गत वर्ष चौधरीको लाहुर्निपसंग विवाद परेपछि झन् चर्किएको छ । अध्यक्ष चौधरीको क्रियाकलापबाट महासंघ धरासायी बनेको अन्य पदाधिकारीहरुको आरोप छ । आर्थिक रुपमा पारदर्शी नहुने , आफूखुशी गर्न खोज्ने ,अराजकता देखाउने , अनुशासनमा नबस्नेजस्ता आरोप चौधरीमाथि लागेको हो ।

आदिवासी जनजाति महासंघ झापामा २३ वटा जातिहरु आवद्ध छन् । जातीय संस्थाका प्रतिनिधिहरुले महासंघको विवाद मिलाउने प्रयास गरेका थिए । तर, सकेका छैनन् । चौधरी नेतृत्वको कार्यसमितिको अवधि अब एक वर्ष मात्र रहेको छ । आफूलाई हटाउने कारण देखाउनु पर्ने भन्दै अध्यक्ष चौधरीले जिल्ला महासंघले आफूलाई हटाउन नसक्ने दावी गर्दै आएका छन् । केन्द्रले आफूलाई नै अध्यक्षको मान्यता दिइरहेको उनको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्