झापा , असोज ११ । खोलाले बगाएर इलाममा एकजनाको मृत्यु भएको छ भने झापामा एकजना बेपत्ता छन् ।

इलामको माई नगरपालिकामा खोलाले बगाएर एकजनाको मृत्यु भएको हो । आज दिउँसो अन्दाजी १ः१० बजेको समयमा माई नगरपालिका– ८ स्थित सेते खोलाले बगाएर स्थानीय ६८ वर्षीय मैतबहादुर लिम्बूको मृत्यु भएको हो । खोला तर्ने क्रममा बगाइरहेको अवस्थामा स्थानीयले देखेर लिम्बूलाई बगाएको ठाउँदेखि अन्दाजी ७० मिटर दक्षिण उद्धार गरेका थिए । उनलाई स्थानीय माई अस्पताल दानाबारीमा सामान्य उपचारपश्चात् थप उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको इलाम प्रहरीले जनाएको छ ।

यता झापाको कचनकवलमा खोलाले बगाएर एक बालिका बेपत्ता भएकी छन् । कचनकवल–१ झकुवाटोली बस्ने पचु राजवंशीकी छोरी १४ बर्षीया नेहारिका राजवंशी जमुना खोलामा डुबेर बेपत्ता भएकी हुन् । भारत सानिमाको घरबाट पाहुना खाई घर फर्कने क्रममा चमारभिट्टा पुल छेउमा जमुना खोलामा दिउँसो करिब ३ बजे उनी साइकलसहित बेपत्ता भएको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । स्थानीयबासी, जनप्रतिनिधि, सुरक्षाकर्मीसहित खोजी कार्य जारी रहेको भट्टराईले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्