झापा,असोज ११ । झापामा खोलामा डुबेर तीनजना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा एक बालिका र दुई पुरुष रहेका छन् ।

शुक्रवार साँझ ६ बजेको समयमा कमल गाउँपालिका वडा न. १ बस्ने मुसे भन्ने ३५ वर्षीय टिकाराम चौधरी किस्ने खोलामा बेपत्ता भएका हुन् । खोलामा माछा मार्ने क्रममा उनी डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गौरादहमा जानकारी गराउनासाथ प्रहरी टोली खटिएर बेपता चौधरीको खोजी गरिएपनि हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै गौरीगंज गाउँपालिका वडा नं. ३ र २ को सिमानामा रहेको हुलाकी सडकमा पर्ने किस्ने खोलाको पुलबाट एक व्यक्ति हामफालेर बेपत्ता भएका छन् । शुक्रवार बेलुका करिब ४ बजे गौरीगंज २ भाकुरमारी सुकुम्बासी बस्ती बस्ने अन्दाजी वर्ष ५० का केमालाल ताजपुरिया हामफालेर वेपत्ता भएको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण खोलामा आएको बाढीले उनको खोजी कार्यमा समस्या भएको छ । नदीको पानीको बहाव उच्च रहेकोले खोजी कार्यमा समस्या भएको इलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक रामचन्द्र साहले बताए ।

शुक्रवार नै कचनकवलमा खोलाले बगाएर एक बालिका बेपत्ता भएकी छन् । कचनकवल–१ झकुवाटोली बस्ने पचु राजवंशीकी छोरी १४ बर्षीया नेहारिका राजवंशी जमुना खोलामा डुबेर बेपत्ता भएकी हुन् । भारत सानिमाको घरबाट पाहुना खाई घर फर्कने क्रममा चमारभिट्टा पुल छेउमा जमुना खोलामा दिउँसो करिब ३ बजे उनी साइकलसहित बेपत्ता भएको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । स्थानीयबासी, जनप्रतिनिधि, सुरक्षाकर्मीसहित दिनभरि खोजी कार्य गरिएकोमा नभेटिएपछि शुक्रवारका लागि स्थगित गरिएको भट्टराईले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्