झापा, असोज १२ । पाँचथरमा पहिरोले पुरेर आमाछोरीसहित तीन जनाको मृत्यु भएको छ । फिदिम १ र ४ मा ३ जनाले ज्यान गुमाएका छन् भने ५ जना बेपत्ता छन् ।
फिदिम–१ मा गएको पहिरोमा परी स्थानीय ५० वर्षीय गोपी विश्वकर्माको मृत्यु भएको हो । आज बिहान ९ बजे फिदिम –१, दुमास्थित विके हाइड्रोपावर १५० किलोवाट र खोरोङ्वा हाइड्रोपावर ९९५ किलोवाटमा अविरल बर्षाका कारण बाढी पहिरो आएर पूर्ण रुपमा क्षति भएको छ । बि.के. हाइड्रोपावरका कर्मचारी फिदिम –१ कार्तिके घर भई हाल बि.के. हाइड्रोपावर दुमामा बस्दै आएका विश्वकर्मालाई घरमाथिबाट खसेको पहिरोले पुरेको हो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा उनको शव निकालिएको छ ।
त्यस्तै दुमामा घर भएका अन्य ५ जनालाई पहिरोले पुरी बगाएर लगेको बुझिएको छ । उनीहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । फिदिम–१ फेमेखोलानजिकै पहिरो जाँदा कृष्ण दास, कमला दास, राजेश तुम्बापो,उनकी श्रीमती सरस्वती तुम्बापो र धनकुमार तुम्बापो बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
यस्तै फिदिम ४ मा आदिवासी जनजाति महासंघको भवनसँगै रहेको घरमा सुतिरहेका बखत खसेको पहिरोले पुर्दा फिदिम १२ की २४ वर्षीया सपना र उनकी ५ वर्षीया छोरी डोल्मा शर्पाको घटनास्थलमै ज्यान गएको हो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा बिहान ६ः५० बजे मृतकहरुको शव निकाली आवश्यक कानुनी प्रक्रिया भइरहेको जनाइएको छ ।
यसैवीच मेची राजमार्गमा रहेको हेवा खोलामा अवस्थित बेलिब्रिज पनि बाढीले बगाएको छ । गत वर्ष असार २ गते आएको बाढीका कारण त्यहाँको पक्की पुल बगेपछि संघीय सरकारले उक्त पुल निर्माण गरेको थियो । पुल बगेसँगै ताप्लेजुङसहित पाँचथर जिल्लाका हिलिहाङ र याङवरक गाउँपालिका सडक सम्पर्क विच्छेद भएका छन् ।