झापा, असोज १३ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखोलामा अर्को बस पनि पुरिएको अवस्थामा फेला परेको छ ।

सशस्त्र प्रहरी बल, नेपालका अनुसार उक्त बसबाट ३ जनाको शव निकालिएको छ ।
सशस्त्र प्रहरी बल, नेपालका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार उक्त बस गोरखाको लापुबेसीबाट छुटेको आंशका गरिए पनि यकिन भने भएको छैन । झ्याप्लेखोलामा अरु बस पनि पुरिएको आशंकामा अहिले खोजी कार्य भइरहेको उनले बताए ।

गोरखाको धार्चे गाउँपालिका–७ लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस शुक्रबारदेखि सम्पर्कमा रहेको छैन । शुक्रबार रातिदेखि बस कहाँ छ भन्ने नखुलेको गोरखा दरौंदी यातायात सेवा प्रालिका अध्यक्ष नारायण खत्रीले बताए ।

उक्त यात्रुवाहक बस शुक्रबार बिहान ७ बजे लापुबाट छुटेको उनले बताए । ‘शुक्रबार राति करिब १० बजे धादिङको खानीखोलासम्म सम्पर्कमा रहेको बस त्यसयता सम्पर्कविहीन बनेको छ,’ उनले भने । खोजीका लागि प्रहरीलाई आग्रह गरिएको उनले बताए । बसमा कति यात्रु थिए भन्ने यकिन भएको छैन ।

झ्याप्लेखोलाममै आएको पहिरोले माइक्रोबस पुरिँदा १४ जनाको मृत्यु भएको छ । बुटवलबाट काठमाडौं गइरहेको माइक्रोबस पहिरोमा पुरिएको हो । १४ जना यात्रुको शव शनिबार साँझ निकालिएको छ ।

माइक्रोबसबाट आठ पुरुष, पाँच महिला र एक बच्चाको शव निकालिएको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेका अनुसार झ्याप्लेखोलामा अरू बस पनि पुरिएको अनुमानमा खोजी कार्य भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्