झापा,असोज १३ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखोलामा ३ वटा गाडी पुरिँदा अहिलेसम्म २४ जनाको मृत्यु भएको पुष्टि भएको छ । सशस्त्र प्रहरी बल, नेपालका अनुसार उक्त पहिरो एउटा बस र दुइटा माइक्रोबस पुरिएको अवस्थामा भेटिएका हुन् ।
चितवनबाट काठमाडौंका लागि आएको माइक्रोबस पनि आइतबार बिहान पुरिएको अवस्थामा भेटिएको छ । उक्त माइक्रो बसबाट ७ जनाको शव निकालिएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ ।
सशस्त्र प्रहरी बल, नेपालका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बस पहिरोमा पुरिएको हो । डीएसपी थापाका अनुसार उक्त माइक्रो बसबाट २ महिला र ५ पुरुषको शव निकालिएको छ ।
पहिरोमा अन्य गाडीहरू पनि पुरिएको आशंकामा खोजी कार्य जारी रहेको उनले बताए । त्यही पहिरोमा गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस पनि पहिरोमा पुरिएको अवस्थामा फेला परेको छ । उक्त बसबाट ३ जना पुरुषको शव निकालिएको छ ।
त्यसैगरी बुटवलबाट काठमाडौं आइरहेको लु १ ज ४५७८ नम्बरको माइक्रोबस पहिरोमा पुरिँदा १४ जनाको मृत्यु भएको छ ।माइक्रोबसबाट आठ पुरुष, पाँच महिला र एक बच्चाको शव निकालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्