झापा , असोज १३ । बाढीबाट बिस्थापित बनेका झापाका बाढीपीडतहरुलाई राहत वितरण गरिएको छ ।
कचनकवल गाउँपालिकाले आफ्ना पालिकाभित्रका बाढीपीडितलाई राहत वितरण गरेको हो ।
बाढीमा परी धनमालसहित घरबारविहीन भएका कचनकवल–३,६ र ७ नं वडाका १२२ घरधुरीलाई खाद्यान्न वितरण गरिएको छ । उनीहरुलाई खाने बस्नेको समस्या भएका कारण खाद्यान्न वितरण गरिएको गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले जानकारी दिए ।तत्कालका लागि प्रत्येकलाई ३ केजी भुजा ,१ काटुन पानी ,१ केजी नुन ,१ केजी दालमोठ ,४ प्याकेट चाउचाउ ,२ लिटर खानेतेल ,२ पिस साबुन वितरण गरेको उनले बताए । गाउँपालिकाका विभिन्न वडाहरुमा बाढीबाट घरबारविहीन भएकाहरुको यकिन तथ्याङ्क सङ्कलन गरेर घरबारविहीनका लागि तत्काल आवासको व्यवस्था गरिने अध्यक्ष राजवंशीले बताए ।
त्यस्तै बिरिङ खोलाको बाढीबाट डुबानमा परेका झापा गाउँपालिकाका ४७ बाढीपीडित परिवारलाई राष्ट्रिय सवतन्त्र पार्टीको अगुवाईमा खाद्यान्न सामग्री वितरण गरिएको छ । झापा गाउँपालिकाको वडा नं ६ चन्द्रवस्तीमा पसेको बिरिङ खोलाको बाढीले डुबाएका ४७ परिवारका २३५ जनालाई वडा कार्यालयले उपलब्ध गराएको खाद्यान्न सामग्री रास्वपा सदस्य दिपक तामाङको अगुवाईमा वितरण गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति उमेश खरेलले जानकारी दिएका छन् ।
त्यस्तै डुबानबाट बिस्थापित गौरीगञ्जका २४ परिवारलाई राहत सामग्री वितरण गरिएको छ । कन्काई नदीमा आएको बाढीले गौरीगञ्ज गाउँपालिका वडा नं. १ स्थित जनताको तटबन्ध भत्काएको छ। तटबन्ध भत्काएर गाउँ पसेको बाढीले गौरीगञ्ज गाउँपालिकाको वडा नं. १ को इश्वर बस्ती डुबानमा पारेको छ। विस्थापित भएका २४ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ। बाढीले कन्काई नदी किनारको करिब ३ सय मिटर बाँध भत्काएको गौरीगञ्ज गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीले बताए । नदीमा आएको बाढीले चार दिनदेखि लगातार कटान गरेको थियो। बाँध भत्काएर बस्तीतर्फ सोझिएको बाढीले करिब एक हजार विगाह धान खेतसमेत डुबाएको छ भने हुलाकी सडकमा निर्माण गरेको कल्भर्टको स्पान भत्काएको छ । विस्थापित परिवारलाई वडा नं. १ ले आइतवार विहान तत्कालका लागि चिउरा, भुजा, पानी, चाउचाउ वितरण गरेको हो भने गौरीगञ्ज गाउँपालिकाले खाद्यान्नको व्यवस्था गरेको छ ।
विस्थापित परिवारलाई जिल्ला रेडक्रस सोसाइटी झापाले त्रिपालको व्यवस्था गरेको छ । बाढी पसेर धेरै बस्तीका मानिस बिस्थापित बन्न सक्ने देखेर राति नै नेपाली सेना ,सशस्त्र प्रहरी र जनपद प्रहरीलाई तैनाथ राखिएको गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले बताइन् । उनका अनुसार कन्काई खोलाको बाँध भत्किएपछि थप समस्या हुन नदिन बाँध भत्किएको स्थानमा बाँसको अस्थायी कम्पाएल बाँधको व्यवस्था गर्न सम्बन्धित कार्यालयसंग कुरा भइरहेको छ ।
भत्किएको बाँध तत्काल निर्माण गर्न नसके बस्तीका सयौं घरपरिवार डुबानमा पर्ने साथै हुलाकी सडक भत्किने अवस्था रहेको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको नेतृत्वमा आएको टोलीले डुबानक्षेत्र निरीक्षण गरेको थियो । नेपाली कांग्रेसका झापा जिल्ला सभापति देउमान थेवे, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका प्रमुख, नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति लोकराज ढकालसहितको टोलीले बाढीपीडितहरुको अबस्थाबारे जानकारी लिएको थियो ।