झापा, असोज १४ । किस्ने खोलाले बगाएर बेपत्ता भएका झापा कमल गाउँपालिका वडा न. १ बस्ने मुसे भनिने ३५ वर्षीय टिकाराम चौधरी तीन दिनपछि मृत फेला परेका छन् ।

प्रहरी टोली र स्थानीयबासीले खोजतलास गर्नेक्रममा आज बिहान ८.३० बजे उनलाई मृत फेला पारिएको हो । घटनास्थलदेखि करिव ३ किलोमिटर दक्षिण सोही खोलाको बगरमा बालुवाले पुरिएको अबस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

अविरल वर्षापछि आएको बाढीले शुक्रवार झापामा डुबेर तीन जना बेपत्ता भएका थिए । जमुना खोलाले बगाएको दुई दिनपछि कचनकवलकी १५ वर्षीया बालिका नेहारिका राजवंशी हिजो मृत भेटिएकी थिइन् भने गौरीगञ्ज गाउँपालिका वडा नं. २ बगहाचौधरी र वडा नं. ४ को बेलडाँगी बीच सिमानामा रहेको किस्ने खोलाको पुलबाट हामफालेका केमालाल ताजुरियाको शव शनिवार साँझ भेटिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्